चुनावअघि महाधिवेशन गर्न नेविसंघको माग
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले फागुन २१ गते निर्वाचन तोकिएकाले त्यसअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने माग गरेको छ। नेविसंघले कांग्रेस नेतृत्वसमक्ष यस्तो आग्रह गर्दै पार्टीलाई समयमै संगठनात्मक रूपले सुदृढ बनाउनु आवश्यक रहेको जनाएको छ ।
जेनजी आन्दोलनपछिको आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला भएको भन्दै हमलाकारीहरूलाई कारबाहीको मागसमेत गरेको छ । नेविसंघले निर्वाचन अगावै महाधिवेशन भए पार्टीको नेतृत्व चयन तथा नीति निर्माण भई चुनावतर्फ एकढिक्का भएर जान सकिने बताएको छ । संघले निर्वाचनभन्दा अघि महाधिवेशन नहुँदा कार्यकर्तामा असमञ्जसता बढ्ने र संगठनात्मक दृष्टिले प्रभाव पर्ने जनाएको छ ।