विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर दर्ता भोलिलाई सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता गर्ने मिति फेरि सरेको छ । यही असोज २४ गते दर्ता गर्ने भनिएको विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने मिति सर्दै आएको छ । मंगलबार बिहान १० बजे नै दर्ता गर्ने भनिएको प्रस्ताव सभापति शेरबहादुर देउवाको सम्बोधनपछि गर्ने भन्दै रोकिएको विशेष महाधिवेशन अभियानमा सक्रिय केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । बैठकमा सभापति देउवाले कार्यवाहक पूर्णबहादुर खड्कालाई तोकेर बाहिरिएका थिए । प्रस्ताव दर्ताका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पेस भएकोमा खड्का त्यहाँबाट बाहिरिएपछि कार्यालय नफर्किएका कारण दर्ता सरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

कार्यवाहक सभापतिज्यूले बुधबार ३ बजेका लागि समय दिनुभएको छ, शिवाकोटीले भने, अब बुधबार दर्ता हुनेछ । जेनजी आन्दोलनबाट सभापति देउवा कुटिएपछि कांग्रेस महामन्त्रीद्वयले जेनजी आन्दोलनको माग स्थापित नेतृत्व फेर्नुपर्ने पनि रहेको भन्दै बहस थालेका थिए । पार्टी पुनर्गठनका लागि आउने र आफूलाई साथ दिन आह्वान गरेका उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षरका लागि आह्वान गरेका थिए । त्यसक्रममा नेता डा. शेखर कोइरालालाई उनीहरूले हस्ताक्षर संकलन गरेर दबाब बढाउँदै शीघ्र महाधिवेशन गराउने प्रस्ताव गरेपछि सिंगो संस्थापनइतर पक्ष हस्ताक्षरमा सहभागी भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *