संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दलको बैठक
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाइएको छ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले बैठक बोलाएका हुन् । पुनर्स्थापनाबारे बैठकमा सभामुख घिमिरेले दलहरूको राय माग्ने अधिकारीले जानकारी दिए । सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक बोलाएको पनि अधिकारीले जानकारी दिए ।