दुई महिनामा बीमा कम्पनीहरूबाट साढे ११ अर्ब बीमा दाबी भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२(८३ का पहिलो दुई महिना अर्थात भदौसम्ममा सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूले साढे ११ अर्ब रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिविम्बअनुसार भदौसम्ममा १४ जीवन बीमक, १४ निर्जीवन बीकम, ३ लघु जीवन बीमक र ४ निर्जीवन लघु बीमक कम्पनीहरूबाट ११ अर्ब ५२ करोड २७ लाख रुपैयाँ दाबी रकम भुक्तानी भएको हो । चालु आवको दुई महिनामा बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीबापतको रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.४८ प्रतिशतले बढेको छ । कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा कल ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालु आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले भुक्तानी गरेको दाबीको संख्या ४३ हजार ६३६ वटा रहेको छ । जसअन्तर्गत कम्पनीहरूले ८ अर्ब २६ करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूले ३६ हजार ४१ वटा दाबी संख्याको ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्ममा जीवन बीमकहरूको दाबी भुक्तानी संख्या २०.३२ प्रतिशत र रकम १९.१८ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चालु आवको दुई महिनामा जीवन बीमकहरूले ५६ हजार ५९७ वटा दाबीको ४ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरूले ४५ हजार २९ वटा दाबीको ३ अर्ब १७ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या र रकम २५.६९ प्रतिशत र ४९.८१ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार दुई महिनामा निर्जीवन बीमकहरूले कुल २२ हजार ३८२ वटा दाबीको ३ अर्ब २५ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको भदौसम्म निर्जीवन बीमकहरूले २० हजार ९४१ वटा दाबीको २ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका थिए । अघिल्लो वर्षको भदौसम्मको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको दाबी भुक्तानी संख्या ६.८८ प्रतिशत र भुक्तानी रकम भने ३१.७५ प्रतिशतले बढेको छ । भदौसम्ममा निर्जीवन बीमकहरूले १ लाख ५ हजार ४९९ वटा दाबीको ४० अर्ब ९५ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीहरूले १ लाख ९६९ वटा दाबीको २३ अर्ब १९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म निर्जीवन बीमकहरूको भुक्तानी हुन बाँकी दाबी संख्या ४.४९ प्रतिशत र दाबी रकम ७६.५९ प्रतिशतले बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *