पन्ध्र दिनभित्र आईपीओ जारी नगरे कडा आन्दोलन गर्ने इप्पानको चेतावनी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले लामो समयदेखि सेयर निष्कासन प्रक्रियामा भइरहेको ढिलाइ र निःशुल्क सेयरको मागविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले धैर्यको सीमा नाघिसकेको चेतावनी दिँदै संयमताका साथ सरकार र सम्बन्धित निकायलाई अन्तिम मौका दिने बताएको छ । संस्थाका अनुसार, २८ महिनादेखि आईपीओ र राइट सेयर निष्कासनमा भइरहेको ढिलाइका कारण निजी क्षेत्रका लगानीकर्ता गम्भीररूपमा निरुत्साहित बनेको जनाएको छ । प्रधानमन्त्रीदेखि अर्थमन्त्री, ऊर्जामन्त्री, धितोपत्र बोर्डका अध्यक्षलगायत उच्च पदाधिकारीसँग निरन्तर भेटघाट र पत्राचार गर्दा पनि सुनुवाइ इप्पान अध्यक्ष गणेश कार्कीले बताए । सेयर निष्कासन ढिलाइबारे इप्पानले अन्तिमपटक प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र धितोपत्र बोर्डका अध्यक्षको ध्यानाकर्षण गराउँदै सेयर निष्कासन प्रक्रिया तत्काल अघि बढाउन औपचारिक अनुरोध गरेको उनले बताए ।
साथै, ‘रियल नेटवर्थ’को कारण देखाएर आईपीओ आवेदन अस्वीकृत गरिएको भन्दै इप्पानले धितोपत्र बोर्डका अध्यक्षविरुद्ध मुद्दा दायर गरिने पनि जनाएको छ । सात दिनभन्दा बढी सेवा ढिलाइ अख्तियार दुरुपयोग मानिने भएकाले लगानीकर्ताले गुमाएको अनुमानित एक खर्ब ८ अर्ब ५० करोड बराबरको क्षतिपूर्ति माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने र १५ दिनभित्र माग पूरा नभएमा भर्चुअल र भौतिक दुवै किसिमका आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएको छ । त्यसैगरी, कानुनी व्यवस्था नभएको निःशुल्क सेयरको मागका कारण निजी लगानीमा निराशा बढेको र आयोजनाहरूको निर्माणमा अवरोध सिर्जना भइरहेको बताउँदै इप्पानले यस विषयमा पनि ठोस कदम चाल्ने जनाएको छ । विद्युत् आयोजनाको सुरक्षाका लागि प्रधानमन्त्री, गृहमन्त्री, ऊर्जामन्त्री, सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखहरूको ध्यानाकर्षण गराउने, ऊर्जा आयोजनाको सुरक्षा नीति निर्माण र विशेष सुरक्षा दस्ता गठन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र प्रत्येक आयोजनामा शान्ति र सुरक्षा कायम राख्न गृह मन्त्रालय, रक्षा मन्त्रालय र स्थानीय तहसँग समन्वय गरी आवश्यक सुरक्षाकर्मीको व्यवस्था गराउने योजना इप्पानले सार्वजनिक गरेको छ । इप्पानले लगानीमैत्री वातावरण नबन्दा ठूला आयोजना जोखिममा परिरहेका जनाएको छ ।