पूर्वसभामुख महरालाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । महरा भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए । पूर्वसभामुख महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको अभियोगमा आइतबार पक्राउ परेका थिए । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन भित्र्याएको आरोप छ । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा भेपमार्फत ९ किलो सुन तस्करी गरेको प्रकरणमा महरा जोडिएका हुन् ।

भेपमार्फत सुन भित्र्याउने उक्त प्रकरणमा महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए । अनुसन्धानका क्रममा चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुल दुवैको सम्पर्क देखिएको र महराले विमानस्थल भन्सार कार्यालयबाट उक्त सुन छुटाउन कर्मचारीलाई फोन गरेको प्रमाण फेला परेको बताइएको छ । यसअघि पनि महरा यही प्रकरणमा २०८० चैत ५ गते पक्राउ परेका थिए । तर, त्यतिबेला प्रहरीले मुद्दा दायर नगरी रिहा गरेको थियो । पछिल्लो अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केही दिनअघि महराको सोही विषयमा बयान लिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *