मितेरी सहकारीको १९ औं साधारण सभा, अध्यक्षमा पुनः महर्जन निर्वाचित
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा सम्पन्न भएको छ । सभाले धनराज महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारण सभाले उपाध्यक्षमा मञ्जिला वाईवा, सचिवमा विष्णु महर्जन, सहसचिवमा राजकुमार कार्की, कोषाध्यक्षमा सुशान्त लामा चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा सुदीप बस्नेत, सकलक्ष्मी स्याङ्तान, बुद्ध बहादुर थिङ, सुविना अमात्य रहेका छन् । त्यसैगरी संस्थाको लेखा सुपरीवेक्ष्ण समितिको संयोजकमा हिरालाल बलामी र सदस्यहरुमा राजेन्द्र कार्की तथा सुकमाया स्याङ्तान सर्वसम्मत चयन भएका छन् । अध्यक्ष महर्जनको सभाध्यक्षता तथा सोही गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा साधराण सभा सम्पन्न भएको हो ।
सभामा वडा ५ का वडाध्यक्ष दुतराज तितुङ, ४ का वडाध्क्ष चन्द्रकुमार बल, कार्यपालिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सभाकै अवसरमा सञ्चालित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेको संस्थाका सूचना अधिकारी उमेश बस्नेतले बताए । सोही अवसरमा ६ विधामा उत्कृष्ट हुने समूह र सदस्यलाई सम्मान गरिएको बस्नेतले बताए । साधारण सभा तथा छठौं निर्वाचन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महर्जनले ग्रामीण परिवेशमा रहेका सहकारी संस्थाहरुले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गरी उनीहरुको आय आर्जन वृद्धिमा सहयोग गर्दै आएको बताए । उनले २८ जना सदस्यबाट सुरु भएको संस्थामा गत असार मसान्तसम्म २० करोड माथि कारोबार पु¥याउन सकेको सभामा जानकारी दिए । सचिव हिरालाल बलामीले आर्थिक बर्ष २०८१।०८२ को प्रगति प्रतिवेदन तथा चालु आ।ब।को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष विष्णु महर्जनले आर्थिक बर्ष २०८१ । ८२ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै शेयर सदस्य २ हजार १ सय, शेयर पुँजी १ करोड ८९ लाख, जगेडा तथा अन्य कोषमा १ करोड ९७ लाख ,बचत संकलन १५ करोड ८४, ऋण लगानी १६ करोड ५९ लाख गरी कुल सम्पत्ति २० करोड २६ लाख पुगेको बताए । गत बर्षको नाफाबाट सदस्यलाई ८ प्रतिशत लाभांश र बचत र ऋणको कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट समेत सदस्यलाई फिर्ता दिइने उनले सभामा जानकारी दिए ।