दलहरू चुनाव सम्बन्धी स्पष्ट हुनुपर्छ
‘जेनजी’को नाममा मच्चाइएको आतङ्क र हिंसापछि मुलुक सरकारविहीन अवस्थाबाट गुज्रिरहेको छ । अहिले नेपालले इतिहासमै कहिल्यै नबेहोरेको सङ्कटको सामना गरिरहेका छ । सरकार नभएका कारण शान्ति सुरक्षाको ग्यारेन्टी छैन । देश बाह्र जनाको हुल बनाएर मन्त्रालयहरू, अख्तियार, पुलिस अफिस, अदालत, विमानस्थल, हवाई विभाग जताततै आतङ्क मच्चाउने, त्रास सिर्जना गर्ने काम भइरहेको छ । जेनजीको नाममा देशभरि सार्वजनिक र निजी सम्पत्तिमाथि धावा बोल्नेहरू अहिले निःशुल्क शेयर मागेर आफ्नो असली अनुहार सार्वजनिक गरिरहेका घटना कथित जेनजीको आवरणमा मुलुकको संविधान, संसद् र संविधानलाई हत्या गरिसकेपछि विदेशीको गोटी बनेका एकाध देशद्रोहीलाई प्रधानमन्त्री र मन्त्रीहरूको ट्याग लगाइदिएको भए पनि तिनीहरूमा मुलुकको कार्यकारिणीलाई सञ्चालन गर्न सक्ने न क्षमता छ न त चरित्र नै । तिनको एक मात्र उद्देश्य नेपालको सार्वभौमसत्ता समाप्त पार्नु देखिएको छ । त्यसका लागि तिनले नेपालका राजनीतिक दल, संविधान र राष्ट्रिय सम्पदालाई समाप्त पार्नु पर्ने आवश्यकता महसुस गरे । अनेक खालका नक्कली पात्र खडा गरेर नाटक मञ्चन गरेर सिङ्गो मुलुकलाई मसानघाटमा परिणत गर्दा पनि केही अझै मानिस तिनलाई देवदूत ठान्ने भूल गरिरहेका छन् । सुशीला कार्की नाम गरेकी महिलालाई प्रधानमन्त्री पदको पगरी लगाइदिने र उनलाई रात साँझ आदेश दिनेहरूको नकाब बिस्तारै उत्रँदै जाँदै छ । हिजो नेतालाई नालायक र भ्रष्ट भनेर आफूलाई चोखो देखाउन खोज्नेहरू महिना दिनमै कसरी नाङ्गिए भन्ने कुरा १ समय मिलियन अमेरिकी डलर ऋण लिने निर्णय गर्नु र सम्पत्ति विवरण देखाउन नचाहनुले प्रस्ट गर्दैन र ? लोकतन्त्रलाई विकृत पार्ने काममा विगतमा राजनैतिक दल सम्बद्ध नेता कार्यकर्ता र सरकारी कर्मचारीले मिलेरै काम गरेका थिए । तर, लोकतन्त्र जीवित रहुन्जेल र राजनीतिक पार्टी अस्तित्वमा रहुन्जेल सुधारको गुन्जाइस रहिरहने कुरा निश्चित थियो । यो वास्तविकता जानेरै नेपालको अस्तित्व मेटाउन चाहने विदेशी शक्ति र तिनको गोटीको रूपमा काम गर्नेहरूले दल, लोकतन्त्र, संसद् र संविधानमाथि सर्वप्रथम आक्रमण गरे । यसमा उनीहरू एक हद सम्म सफल पनि भए । अब तिनको कदम चुनावको नाममा सत्ता कब्जा गर्ने दिशातर्फ केन्द्रित भएको छ । फागुन २१ गते गर्ने भनिएको आमनिर्वाचनमाथि अहिले गम्भीर प्रश्न उठेको छ । के साँच्चै चुनाव होला त, भयो भने कसरी हुन्छ र कस्तो हुन्छ भन्ने कुराको अन्योल आफै कायम छ । संविधान विपरीत गठन भएको सरकार र त्यसका मन्त्रीहरू हाल अस्तित्वमा रहेका राजनीतिक दललाई सामेल नगराई विगतमा राजा ज्ञानेन्द्रले शक्ति हातमा लिएर गराएको नगरपालिका निर्वाचन जस्तो गरी गराउने ताकमा रहेको देखिन्छ । विदेशी कृपाबाट प्रधानमन्त्री र मन्त्री बनेकाहरू दलहरूले टाउको उठाउन थाले तिनलाई टाउको उठाउन दिनुभएन भन्ने अभिव्यक्ति निरन्तर दिइरहेका छन् । संविधानसभा भवनमा गोली चल्नुको कारण के हो, त्यो नरसंहारका पछाडि कसको हात छ र भदौ २४ गते देश ढडाउनेहरू को हुन् भन्ने पत्ता नलगाई न त लोकतन्त्रको रक्षा हुन्छ न कानुनी राज स्थापित गर्न सकिन्छ । देश डढाउनेमा वर्तमान मन्त्रिपरिषद् सदस्यहरू ‘प्रधानमन्त्री’ र तिनलाई नेतृत्व निर्देशन दिने विदेश र तिनका एजेन्ट नै हुन भन्ने छर्लङ्ग भइसकेको छ ।
काठमाडौँ महानगर प्रमुख, माओवादी, रास्वपा र राप्रपा प्रत्यक्ष अप्रत्यक्ष रूपमा त्यो घटनाका दोषी हुन् । तिनीहरूमाथि कारबाही नगरी चुनाव कसरी सम्भव हुन्छ रु चुनाव गराउन शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । तर नेपाल प्रहरीसँग भएका पन्ध्र सय बढी हतियार र लाखौँ गोली अहिले बालेन–सुदन ग्रुपसँगै छ भनिन्छ । ती हतियारले चुनाव सजिलै कब्जा गर्ने तिनको योजना छ । फागुनको चुनाव कब्जा गरेपछि वैधानिक बाटोबाटै नेपाललाई सिक्किम बनाउने तिनको योजना छैन भन्ने ग्यारेन्टी के छ रु अहिले कथित जेनजी आन्दोलनको आव्हानकर्ता एक जना पात्र नेपाल रहन पनि सक्छ, नरहन पनि सक्छ भनेर फलाक्दै छ । अमेरिका, भारत र चीन विरोधी शक्ति नेपाललाई सिद्धाउने खेलमा लागेको र त्यही घटनाको यो पहिलो कदम हो भन्ने प्रस्ट देखिन्छ । यति डरलाग्दो घटना हुँदा पनि जिम्मेवार भनिएका राजनीतिक दलहरू पुरानै रोगबाट ग्रसित छन् । तिनीहरू असक्षम, भ्रष्ट र स्वार्थी भएकै कारण आजको स्थिति आएको हो । अहिले तिनीहरू वर्तमान सरकार, संसद् विघटन, सङ्कटमा परेको संविधान र आगामी चुनावबारे गम्भीर रूपले छलफलमा लाग्नुपर्ने हो । तर त्यो जिम्मेवारी भुलेर आफू बिचमै झगडामा उल्झिएका छन् । यसले नेपालको सङ्कट थप जटिल बन्ने निश्चित छ । र, देशलाई बचाउन असम्भव हुनसक्छ ।