नेपाललाई विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि

काठमाण्डौं । नेपालले शुक्रबार ओमानमा आइसिसी टी-२० विश्वकप एसिया एन्ड इपिए छनोटको उपाधि जितेको छ। अपराजित रहदै च्याम्पियन बन्ने क्रममा नेपालले शुक्रबार प्रतियोगिताको अन्तिम खेलम समोआलाई १२४ रनले पराजित गर्‍यो। छनोटबाट नेपालसहित आयोजक ओमान र युएईले सन् २०२६ को फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाए। प्रतियोगितामा उत्कृष्ट लयमा रहदा नेपालले ६ खेल जित्यो। नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। सुपर-६ मा युएई र कतारलाई हराएसँगै नेपाल विश्वकपमा पुगेको थियो। त्यसपछि घरेलु टोली ओमानलाई हराएको नेपाल उपाधि नजिक पुगेको थियो। शुक्रबार समोआलाई हराएसँगै नेपाल च्याम्पियन बनेको हो।

यससँगै नेपालले सात वर्षपछि आइसिसीको उपाधि जित्न सफल भयो। नेपालले सन् २०१८ अक्टोबरमा आइसिसीको पछिल्लो उपाधि जितेको थियो। त्यतिबेला नेपालले मलेसियामा भएको आइसिसी टी-२० इस्टर्न उपक्षेत्रीय छनोट ‘बी’ को उपाधि हात पारेको थियो। यो नेपालले आइसिसीको उपाधि जितेको पाँचौ उपाधि थियो। आज उपाधिसँगै नेपालले आइसिसीको छैटौं उपाधि हात पार्‍यो। सन् २०१८ पछि नेपालले आइसिसी विश्वकप लिग-२ सहित टी-२० विश्वकपको तीन पटक छनोट खेल्यो। इस्टर्न उपक्षेत्रीय छनोट जितेको नेपालले सन् २०१९ मा सिंगापुरमा भएको एसिया छनोट खेल्यो। तर नेपाल तेस्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्नै सकेन। त्यसपछि २०२२ को फेब्रुअरीमा भएको आइसिसी टी-२० छनोटमा नेपाल सेमिफाइनलमा हार्‍यो। ‌

ओमानमा भएको छनोटमा नेपाल युएईसँग पराजित भएपछि विश्वकपमा पुग्न सकेन। त्यसपछि २०२३ मा नेपालले घरेलु मैदानमै आइसिसी टी-२० विश्वकप छनोट खेल्यो। यसपटक पनि नेपालले युएईलाई हराएर सन् २०२४ को विश्वकपमा स्थान बनायो। सेमिफाइनलमा युएईलाई हराएको नेपाल ओमनसँगको उपाधि भिडन्तमा भने सफल भएन। त्रिवि मैदानमा भएको फाइनलमा नेपालमाथि ओमानले सुपर ओभरमा जित निकाल्यो। आइसिसीका टी-२० विश्वकप छनोट खेलिरहेका बेला नेपालले गत साइकलको आइसिसी विश्वकप लिग-२ मा एकदिवसीय फर्स्याटमा प्रतिस्पर्धा गर्‍यो। सन् २०१९ देखि २०२३ सम्मको लिग-२ खराब सुरुवात गरेको नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता जोगायो। नेपाल तेस्रो स्थानमा रहदा स्कटल्यान्डले उपाधि जितेको थियो।

त्यसपछि जिम्बावेमा आइसिसीको एकदिवसीय ग्लोबल छनोट खेलेको नेपाल आठौं स्थानमा सीमित बन्यो। सन् २०१५ मा नेपालले आइसिसीको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलेको थियो। दुई वर्ष चलेको यो च्याम्पियनसिपमा नेपाल सातौं भयो। सन् २०१५ अघि भने नेपालले आइसिसीको विश्व क्रिकेट लिग डिभिजन स्तरका प्रतिस्पर्धा खेल्ने गरेको थियो। ती डिभिजन लिगमा नेपालले चार पटक उपाधि जित्न सफल भएको थियो। नेपालले सन् २०१४ र २०१३ मा डिभिजन-३ को उपाधि जित्दा सन् २०१२ मा डिभिजन-४ को उपाधि जित्न सफल भएको थियो। सन् २०१० मा नेपालले पहिलो पटक कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ जितेको थियो। नेपालले जितेको आइसिसीको पहिलो प्रतियोगिता हो। नेपालले डिभिजनस्तरका आइसिसीका चार प्रतियोगिताको उपाधि जितेको थियो। नेपालले जितेका यी सबै डिभिजनस्तरका लिगको कप्तानी पारस खड्काले गरेका थिए। खड्काको नेतृत्वमा नेपालले आइसिसीको पहिलो उपाधि, पहिलो पटक टी-२० विश्वकप र एकदिवसीय मान्यता हात पारेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *