प्रगति महिला उत्थान सहकारीको २३ औं साधारण सभा सम्पन्न
काठमाण्डौं । बालाजुमा रहेको प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २३ औं साधारण सधा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सिर्जना दाहालको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सुशिल बस्न्यात रहेका थिए । सभामा अध्यक्ष दाहालले प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा पछाडि परेका शहरी गरिबी महिलाहरुको आर्थिक अवस्थामा परिर्वतन गर्ने उदेश्यले संस्था स्थापना गरिएको बताइन् । उनले अव्यस्थित वस्तीहरुमा २०५४।५५ सालदेखि आवासको लागि सहयोग समुह लुमन्तीको प्राविधिक र आर्थिक सहयोगमा स साना समुह निर्माण गरी महिलाहरुमा बचत गर्ने वानीको विकास सँगसँगै अव्यवस्थित वस्तीमा वसोवास गर्ने महिलाहरुलाई सुरक्षित वास अधिकारको वकालत गर्ने संस्थाहरुको सहयोगमा २०५९ सालमा सहकारी संस्था स्थापना गरेको बताइन् । महिलाहरुको आर्थिक सशक्तिकरणका साथै उनीहरुलाई समाजमा स्वतन्त्र रुपमा बाच्न सक्ने बनाउने उदेश्यका साथ स्थापना भएको संस्था समुदायमा केन्द्रीत भएर वित्तीय कारोबार गर्दै आएको उनको भनाई छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै ऐन नियमको पूर्ण पालना गरी सदस्यहरुको जीवनस्तर परिवर्तन गर्न संस्था लागि परेको उनको भनाई छ । संस्थाका कारण महिला सदस्यहरुको व्यक्तिगत जीवनमा मात्र नभई घरपरिवारमा नै टेवा पुगेको अध्यक्ष दाहालले सभामा जानकारी दिइन् । सहकारीकै कारण महिला सदस्यहरु उद्यमी बनी आफ्नो बालबच्चाको उच्च शिक्षामा खर्च गर्न सक्ने, घर जग्गा जोड्ने र सामाजिक रुपमा समेत प्रतिष्ठित बन्दै गएको उनको भनाई छ ।

संस्थाकी सचिव मुना लामाले आब २०८१।८२ को प्रगति प्रतिवेदन र यस आर्थिक बर्षको प्रस्तावित कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेकी थिइन् । यस आबमा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम,कर्मचारीको क्षमता विकास कार्यक्रम,स्वास्थ्य परामर्श र बचतकर्तालाई सम्मान गर्ने जस्ता कार्यक्रम गरिने उनले सभामा जानकारी दिइन् । संस्थाकी कोषाध्यक्ष संगिता कार्की मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म १ हजार ५८ जना सदस्य,१ करोड १० लाख ८१ हजार शेयर पुँजी, ११ करोड २६ हजार बचत संकलन र १० करोड ४७ लाख ऋण लगानी पुगेको बताइन् । त्यसैगरी संस्थाको जगेडा कोषमा ६३ लाख ८२ हजार र अन्य कोषमा १३ लाख ४७ हजार पुगेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति १३ करोड ६१ लाख पुगेको उनको भनाई छ । संस्थाले गत आबमा १६ लाख खुद नाफा आर्जन गरेको छ । लेखा सुपरीवेक्षण समितिको तर्फबाट नैना थापाले समितिको प्रतिवेदन प्रस्तुत गर्दै समितिले दिएको अधिकांश सुझावहरु पालना गरेको पाइएको बताइन् । संस्थाले सदस्यहरुलाई लक्षित गरी विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ भने वैदेशिक शिक्षा र रोजगार,व्यवसायिक, शिक्षा,कृषि,घर जग्गा खरिद र सामाजिक कार्यको क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।