सचिव गोकर्णमणि दुवाडी उपत्यकाबाहिर जान पाउने

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौं उपत्यका छाड्न अनुमति दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले दुवाडीलाई एकपटकमा सात दिनका लागि आयोगलाई जानकारी गराएर उपत्यका छाडेर जान अनुमति दिने निर्णय गरेको हो । आयोगले विदेश भ्रमणमा लगाइएको रोकलाई भने यथावत् राखेको छ । उनी अहिले राष्ट्रिय योजना आयोगको सचिवको भूमिकामा छन् । मन्त्रिपरिषद्को निर्णयानुसार गठित सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको मूल्यांकन र पुनर्निर्माण योजना तयार गर्ने समितिको संयोजकको हैसियतले दुवाडीले सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्नुपर्ने भएकाले उनलाई उपत्यका छाड्न अनुमति दिइएको आयोगले जनाएको छ ।

तर, दुवाडी आयोगको छानबिनको दायरामा रहेकाले बयान कार्यका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने सर्त राखिएको छ । यसैगरी, आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालयहरू, व्यापारिक संस्था, राजनीतिक दल, प्रदेश र विभिन्न तहका कार्यालयहरू, शिक्षण संस्थाहरू तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण आयोगलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ । क्षति विवरण आयोगको इमेल ठेगाना (septandincident.ic@gmail.com) वा आयोगको कार्यालयलाई उपलब्ध गराउन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *