गृहले दियो निर्वाचन सुरक्षालक्षित गस्ती बढाउन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलक्षित गस्ती बढाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृह सचिवस्तरीय निर्णय गरी गृह मन्त्रालयले उक्त निर्देशन आइतबार सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाहरूको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउँदै जाने । सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित गस्ती पेट्रोलिङ बढाउने,” निर्देशनमा भनिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ तर्जुमा सुरु भइसकेको निर्देशनमा उल्लेख छ ।

जिल्लास्तरमासमेत यसपूर्वको निर्वाचन सुरक्षा अभ्यास तथा अनुभव समेतका आधारमा सबै सुरक्षा निकायहरूले निर्वाचन प्रयोजनको लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, सञ्चार उपकरण, सवारी साधनलगायतको विषयमा लेखाजोखा गर्न पनि भनिएको छ । “हाल कायम रहेका मतदानस्थलहरूको परिवर्तित परिस्थितिमा वर्गीकरण गर्नुपर्ने भएकोले जिल्ला सुरक्षा समितिबाट संवेदनशीलतास्तर (सामान्य, संवेदनशील र अतिसंवेदनशील) विश्लेषण एवं वर्गीकरणको कार्य गरी मन्त्रालयसमक्ष प्रतिवेदन गर्ने,” निर्देशनमा उल्लेख छ । निर्वाचनविरोधी गतिविधि एवं भूमिगत समूहद्वारा सञ्चालित क्रियाकलापहरूको पहिचान एवं नियन्त्रणका लागि सूचना प्राप्ति, विश्लेषण र कार्ययोजना बनाई समन्वयात्मक तवरले प्रभावकारीरूपमा कार्यान्वयन तथा प्रतिवेदन गर्न निर्देशनमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *