जेनजी आन्दोलनको नाममा प्रहरीलाई नाङ्गो बनाएर खेदेको आरोपमा गौतम घिसिङ पक्राउ
जेनजी आन्दोलनको आवरणमा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने घटनामा संलग्न रहेको आरोपमा गौतम घिसिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, घिसिङमाथि कर्तव्य पालनको क्रममा बर्दीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने, आगजनी तथा हतियार लुटपाट जस्ता गम्भीर अपराधमा संलग्न रहेको प्रमाण फेला परेको छ। प्रहरीका अनुसार दोलखा जिल्लाका ४८ वर्षीय गौतम घिसिङलाई काठमाडौं जिल्ला अदालतको आदेशमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। अदालतले उनलाई ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। घिसिङमाथि भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा आक्रमण गरी प्रहरी टोलीलाई हतियारसहित लखेट्ने, बर्दी खोल्न बाध्य पार्ने र बागमती किनारमा लैजाई सांघातिक आक्रमण गर्ने आरोप छ।
सो क्रममा प्रहरीको ज्यान नै जोखिममा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टाईले जानकारी दिएका छन्। भट्टाईका अनुसार, पक्राउ परेका घिसिङलाई प्रहरीको टोलीले बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीमाथि कर्तव्यपालनमा खटिएका सुरक्षाकर्मीमाथि योजनाबद्ध हमला गरेको प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको छ।घिसिङ्ग बैंकिंग कसुर मुद्दामा फरार अभियुक्त समेत भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले हालैका दिनमा भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका नाममा राजधानीका विभिन्न ठाउँमा भएको हुलदङ्गा, सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र मानवीय क्षति पुर्याउने घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तीव्र पारेको जनाएको छ। प्रहरीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, सरकारी कार्यालयमा आक्रमण गर्ने र प्रहरीमाथि आक्रमणमा संलग्न सबैलाई कानूनी दायरामा ल्याउने जनाएको छ। काठमाडौं प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि क्रमशः मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।