सरकारले दमन गर्यो, हामी सहँदैनौँ – जेनजी’ प्रतिनिधि
काठमाडौं । ‘जेनजी’ प्रतिनिधिले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका निम्ति भेला भएका जेनजीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् । शनिबार अपराह्न पत्रकार सम्मेलन गरी उनीहरूले जेनजीलाई एकताबद्ध गराउने अभियानमा जुटेकालाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए । शान्तिपूर्ण रूपमा भेला भएका जेनजीलाई पक्राउ गरिएकाले तत्काल उनीहरूलाई नछाडिए कडा कदम चाल्न आफूहरू बाध्य हुने प्रतिनिधि मञ्जना राईले चेतावनी दिइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरूका मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन् । राईले भनिन्, अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ ।
हामी पछि हट्ने छैनौँ, यही चेतावनी दिन चाहन्छौँ । थुनिएका साथीहरू रिहाइ नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ । उनीहरूले सरकारले आफूहरूमाथि दमन गरेको भन्दै सैह्य नहुने चतावनी दिए । भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारको दमनकारी नीतिविरुद्ध लाग्न सबैलाई आह्वान गरे । हामीलाई युनिफाइड पनि हुन नदिने, यो कस्तो सरकार हो ? युनिफिकेसनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ,” उनले भने, “सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ । जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाइ थियो । उनले आफूहरूको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको बताए ।
















