जाँचबुझ आयोगले माग्यो एनजीओ, आइएनजीओहरूको वैदेशिक सहायता विवरण
काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ,आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज कल्याण परिषद्लाई पत्र काटेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विवरण मागिएको पुष्टि गरे । ‘हामीले जाँचबुझको सिलसिलामा समाजकल्याण परिषद्बाट एक वर्षको अवधिको सहयोगको विवरण मागेका हौं, संक्षिप्त प्रतिक्रियामा भने, ‘विवरण मागिएको हो । त्यो बाहेक अहिले अरू केही होइन ।’ जेन–जी आन्दोलनमा सक्रिय देखिएका केही व्यक्ति र ती आबद्ध संघसंस्थामाथि कतिपयले प्रश्न उठाएका छन् । त्यही पृष्ठभूमिमा आयोगले समाजकल्याण परिषद्बाट सहयोगमा आएको रकम र उनीहरूले गरेको खर्चको विवरण मागेको हो ।
कुनै निश्चित संस्था वा ठाँउ नभएर समग्र देशभरका संघसंस्थाहरूमा आएको सहायताको विवरण मागिएको कार्कीले बताए । जेन–जी आन्दोलनमा सक्रिय भएका कतिपय संस्थाहरूमाथिको अनुदानबारे कतिपयले सार्वजनिक वृत्तमा प्रश्न उठाएका थिए । दातृ निकाय तथा नेपालमै रहेका कतिपय कम्पनीहरूले गरेको सहयोगमाथि प्रश्न उठेको बेलामा आयोगले गैरसरकारी संस्थाहरूको आम्दानी र उनीहरूको कार्यक्रम सहित खर्चको विवरण मागेको हो । आयोगले विवरण मागेपनि समाजकल्याण परिषद्मा वैदेशिक सहायताबाट सञ्चालित हुने गैरसरकारी संस्थाहरूको मात्रै विवरण हुन्छ । नेपालभित्रै सञ्चालित र नेपालबाटै विभिन्न उपायले अनुदान पाउने संस्थाहरूले भने समाजकल्याण परिषद्मा नभई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफ्नो विवरण र लेखापरीक्षण प्रतिवेदन बुझाउने गर्छन् ।
















