तरुण दल चुप लागेर बस्दैन, सडकमा भिड्ने हो : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाली कांग्रेसमा आबद्ध युवाको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । संगठनको स्थापना दिवसका अवसरमा यस्तो घोषणा गरिएको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र अस्तित्व रक्षाका निम्ति पनि अब आफूहरू चुप लागेर बस्ने अवस्था नभएको बताए । दुर्गा प्रसाईं, सुधन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको उनले उल्लेख गरे । अब सडक संघर्षलाई अघि बढाउन तयारी अवस्थामा रहन उनले तरुण दलका नेता–कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस कार्यकर्तालाई ‘झोले’का रूपमा चित्रण गर्ने कार्य भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे । अध्यक्ष गुरुङले गएको भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरूले रोक्न नसकेकामा क्षमा मागे । आउँदा दिनमा त्यस्तो खालको अवस्था आउन नदिन सजग हुने समेत उनले बताए ।
आज एउटा सरकार बनेको छ, पुराना दलको सरकार गएपछि मुलुकमा के केही परिवर्तन भएको छ ? आज एउटा कुनै दुर्गा प्रसाईंले छठपछि आन्दोलनको घोषणा गरेको छ । एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ । केही जेनजी पुस्ताहरूले पनि फेरि नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा हाम्रा परिवारहरूलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ । यसैले म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ । यदि, यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाईं हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरूको विरुद्ध सडकमा भिड्ने हो । योभन्दा अब अर्को विकल्प नै छैन । अब आउने दिनमा, २३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौँ । २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौँ, जसकारण हामीले यति ठूलो क्षति व्यहोर्न गयौँ । अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अब नेपाल तरुण दल सजग रहनेछ । र, तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *