पूर्वी भागमा बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना : मौसमविद्

काठमाडौं । देशका केही स्थानमा यो साता भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वर्षा हुन भोलि (कात्तिक ११)देखि नै सुरु हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् । आउँदो बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भूभागमा भारी वर्षा हुने सम्भावना उनले औँल्याएका छन् । भोलिदेखि पश्चिमी नेपालमा वर्षा हुने र बिहीबारदेखि शनिबारसम्म देशको पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ, उनले सोमबार (कात्तिक १०) दिउँसो फेसबुकमा लेखेका छन् । बंगालको खाडीमा रहेको मोन्था चक्रवात र अरबसागरको न्यूनचापीय प्रणालीले यति बेला नेपालभरि बादल ल्याइरहेको उनले जानकारी दिए । तर, अहिलेसम्म वर्षा भएको छैन, भनेका छन् । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि आउँदो शुक्रबार र शनिबार वाग्मती, मधेस र कोसी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएका छन् । सुझावका रूपमा उनले फेसबुकमा लेखेका छन्, १. धान भित्र्याउन, पराल आदिको सुरक्षामा विशेष ध्यान दिनुपर्ने २. १४–१५ कार्तिकमा काठमाडौंलगायत पूर्वी नेपालको हवाई तथा स्थलमार्ग प्रभावित हुनसक्छ । पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले पनि आउँदो बिहीबारदेखि देशको पूर्वी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएका छन् । इलाममा पुनः विशेष सतर्कताको आवश्यकता देखियो । धान काट्ने र भित्र्याउने कार्य मंगलबारदेखि स्थगित गरौँ, उनले फेसबुकमा लेखेका छन्, तराईका जिल्लाहरूमा धान जोगाउने उपायतर्फ लागौँ – खासगरी पूर्वमा झापादेखि पश्चिममा पर्सासम्म । यी तीनै मौसमविद्ले पश्चिम नेपालमा भने हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएका छन् । उच्चपहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याइएको छ । उच्चपहाडी र हिमाली भेगमा भारी हिमपातको सम्भावना देखिन्छ, मौसमविद् उपाध्यायले भनेका छन्, अपी–नम्पा, अन्नपूर्ण, मनास्लु लाङटाङतर्फ पदयात्रा मंगलबारदेखि बिहिबारसम्म स्थगन गर्नुहोला । देशको मौसमको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबारै विशेष बुलेटिन जारी गरेको छ । महाशाखाले पश्चिम नेपालका केही स्थानमा सोमबार रातिदेखि बुधबार बिहानसम्म वर्षा र हिमपातको पूर्वानुमान गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *