शरीरको तौल घटाउने कर्मचारीलाई बोनस

चीनमा भने एउटा कम्पनीले शरीरको वजन घटाएबापत आफ्ना कर्मचारीहरुलाई बोनस दिँदैछ । कर्मचारीहरुलाई मोटोपना घटाउनका लागि प्रोत्साहित गर्न भन्दै सो कम्पनीले एक लाख ४० हजार डलर बराबरको रकम बोन बाँड्ने भएको हो । कम्पनीको सो अफर चिनियाँ सोसल मिडियाहरुमा निकै चर्चामा छ । सो अफर अन्तरगत एकजना कर्मचारीले ९० दिनमा २० केजीभन्दा धेरै वजन कम गरेर २० हजार युआन बोनस प्राप्त गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार सेन्जेनस्थित प्रविधि कम्पनी अरशी भिजन इंकले गत अगष्ट १२ मा घोषणा गरेको ‘मिलियन युआन वेट लस च्यालेन्ज’ नामक वार्षिक कार्यक्रमले निकै चर्चा कमाएको छ । आमरुपमा इन्स्टा ३६० नामले चिनिने सो कम्पनीले यस्तो कार्यक्रम बर्सेनि चलाउने गर्दछ । सो कार्यक्रमको उद्देश्य कर्मचारीहरुलाई नियमित व्यामान गर्न र सन्तुलित आहारको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउनका लागि प्रेरित गर्नु हो । कम्पनीका सबै कर्मचारीहरुले उक्त अभियानमा नाम दर्ता गरेर भाग लिन सक्ने बताइएको छ । शरीरको वजन न्यूनतम आधा केजी घटाएबापत ५ सय युआन अर्थात् करिब ७० डलरको दरले नगद पुरस्कार ९बोनस० कम्पनीले दिनेछ । रोचक त के भने उक्त च्यालेन्जमा जरिवानाको प्रावधान पनि रहेको छ । जो प्रतियोगीले शरीरको वजन घटाउनुको साटो पुनः बढाउनेछन् उनीहरुले प्रतिकिलो वजन वृद्धिका लागि ८ सय युआन जरिवाना तिर्नुपर्नेछ । यद्यपि अहिलेसम्म यस्तो जरिवाना लगाइएको भने छैन । जीउको वजन घटाउने सो प्रतिस्पर्धामा पछिल्लो जेन जी पुस्ताका कर्मचारी झी याकीले तीन महिनाभित्र २० केजी वजन कम गरेर २० हजार युआन नगद पुरस्कार र वजन घटाउने च्याम्पियनसीपको उपाधि जितेका छन् । आफू सो च्याम्पियनसीपका बेला अनुशासित रहेको र खानपानमा निकै ध्यान दिनुका साथै दैनिक डेढ घण्टा व्यायाम गरेको उनले बताएका छन् । झीले ग्रुप च्याटमा वजन घटाउने विधि पनि शेयर गरेका छन् ताकि अन्य सहकर्मीहरुलाई प्रेरित गर्न सकियोस् । चिनियाँ अभिनेता किन हाओले १५ दिनमा १० केजी वजन क मगर्नका लागि प्रयोग गरेको विधि नै झीले अबलम्बन गरेका थिए । त्यसमा दिनहुँ केवल सोयाको दुधमात्रै पिउने, दोश्रो दिन मकै खाने, तेस्रो दिन फल र त्यसपछिका दिनमा पालैपालो प्रोटिन तथा सागपात खाने गरिन्छ । सन् २०२२ देखि कम्पनीले यस्तो प्रतियोगिता सातपटक आयोजना गरिसकेको छ । यसमा कूल पुरस्कारको रुपमा करीब २० लाख युआन अर्थात् २ लाख ८० हजार डलर वितरण गरिसकिएको छ । अघिल्लो वर्ष मात्रै ९९ जना कर्मचारीहरुले यसमा भाग लिएका थिए । सामूहिक रुपमा ९५० केजी वजन कम गरे र नगद पुरस्कारको रुपमा १० लाख युआन बाँडिएको थियो । कम्पनीका एकजना प्रतिनिधिका अनुसार सो प्रतिस्पर्धाको माध्यमबाट कर्मचारीहरुमा स्वस्थ जीवनशैली र कल्याणलाई बढावा दिनु प्रमुख उद्देश्य रहेको छ । यसले कर्मचारीहरुलाई जीवनमा नयाँ उत्साहसँग जोडिने र काम गर्नका लागि एक सकारात्मक प्रोत्साहनको काम गर्दछ । उक्त कम्पनीले चलाएको सो अभियान चीनको एक व्यापक राष्ट्रिय अभियानसँग मेल खान्छ । चीनले सन् २०२४ को जुनमा वजन घटाउने वर्षको सुरुवात गरेको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र अन्य १६ वटा विभागहरुले संयुक्त रुपमा सो त्रिवर्षीय अभियान सुरु गरेका हुन् । यसको उद्देश्य फिटनेशलाई बढावा दिनु र देशमा अधिक वजन तथा मोटोपनाको बढ्दो दरमाथि अंकुश लगाउनु रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *