अर्ब बढी लगानीमा बोधी होल्डिङ्सले सुविधा सम्पन्न हाउजिङ बनाउँदै

काठमाडौं । लुम्बिनीमा अत्याधुनिक आवासीय सुविधा समेटिएको हाउजिङ निर्माण तीव्र गतिमा भइरहेको छ । बोधी होल्डिङ प्रालिले भैरहवा नजिक सुरु गरेको आवासीय परियोजनाको हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण लुम्बिनी क्षेत्रमा सुरु गरिएको यो परियोजना प्रदेशकै पहिलो व्यवस्थित, सुरक्षित र आधुनिक हाउजिङ बस्तीका रूपमा विकसित भइरहेको कम्पनीको दाबी छ । भैरहवाबाट करिब तीनदेखि चार किलोमिटर टाढा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै निर्माण भइरहेको यस बस्तीमा कुल १०४ आवास इकाइ निर्माण गर्ने योजना छ । पहिलो चरणमा ६५ वटा फोर बीएचके र फाइभ बीएचके युनिट तयार पारिँदै छन् । कम्पनीका अनुसार परियोजनाको अनुमानित लागत करिब १।१ अर्ब रुपैयाँ रहेको छ, जसमा ८० करोड बैंक ऋण र ३० करोड रुपैयाँ इक्विटी लगानी रहनेछ । हालसम्म कम्पनीले कुल ऋणमध्ये ४९ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्था गरिसकेको छ । बजारको प्रारम्भिक प्रतिक्रिया पनि उत्साहजनक देखिएको कम्पनीको भनाइ छ । हालसम्म २४ जना ग्राहकहरूबाट करिब १६।९ करोड रुपैयाँ बुकिङ स्वरूप अग्रिम रकम प्राप्त भएको कम्पनीले जनाएको छ । बुकिङको यो स्तरले परियोजनाप्रतिको बजारको विश्वास र भविष्यमा मागको स्थायित्व देखाएको कम्पनीको धारणा छ ।

बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डे हुन् । उनी बैंकिङ, कृषि, शिक्षा र जलविद्युत क्षेत्रमा अनुभवी व्यक्तिका रुपमा परिचित हुन् । उनी गरिमा विकास बैंकका संस्थापक अध्यक्ष पनि हुन् । कम्पनीको निर्देशक बुद्धिराम यादव हुन् । उनी सिमेन्ट, हस्पिटालिटी, पेट्रोलियम, लगानी र रियल इस्टेट क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव भएका व्यवसायी हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जीडी पाण्डे बैंकिङ तथा वित्त क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभवका साथ कम्पनीको रणनीतिक नेतृत्व गरिरहेका छन् । परियोजना निर्माणस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट केही मिनेटको दूरीमा र लुम्बिनी–बुद्धजन्मस्थल बाट करिब १५ किलोमिटर टाढा छ । साथै, भारतको नौतनवा रेल्वे स्टेशन करिब ३८ किलोमिटर दूरीमा रहेको छ। लुम्बिनीमा हाल तीव्र शहरीकरण, बढ्दो मध्यम वर्ग र पर्यटनका अवसरहरूले आवासीय मागमा उल्लेखनीय वृद्धि ल्याइरहेका छन् । त्यसमाथि निजी क्षेत्रको लगानी र सरकारी आवास–कर नीतिले रियल इस्टेट बजारमा नयाँ ऊर्जा थपेको छ । यदि सबै काम निर्धारित समयमा पूरा भयो भने २०२६ भित्रै पहिलो चरणका घरहरू तयार हुने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *