सन नेपाल लाइफलाई ‘त्रिपल बी प्लस’ रेटिङ

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्यांकनमा सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गर्दै आएको मूल्यांकन ‘त्रिपल बी’ बाट परिमार्जन गर्दै यसपटक कम्पनीको मूल्यांकन श्रेणी ‘त्रिपल बी प्लस’ मा उकासेको हो । यस श्रेणीमा पर्ने कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमा पूरा गर्ने क्षमतामा अझ बढी सुरक्षा प्रदान गर्न सक्षम रहेको देखिन्छ । कम्पनीको निरन्तर सुदृढ भई रहेको वित्तीय प्रदर्शन, प्रिमियम आम्दानीमा उद्योगको वृद्धिसँगै देखिएको निरन्तर प्रगति र अनुकूल दाबी व्यवस्थापनले अन्डरराइटिङ नतिजामा हासिल भएको स्वस्थ विकास मूल्यांकन उकासिनुका प्रमुख आधार भएको केयर नेपालले उल्लेख गरेको छ । कम्पनीले हकप्रद निष्कासनमार्फत चुक्ता पुँजीमा वृद्धि गरेका कारण मूर्त सम्पत्तिमा भएको सुधारले कम्पनीको उपलब्ध पुँजी स्रोत मजबुत बनाउँदै आगामी आर्थिक वर्षको अन्त्यमा दायित्व वहन क्षमता (सोल्भेन्सी) अझै सबल हुने अपेक्षा गरिएको छ । बढ्दो लगानी पोर्टफोलियोमा सुरक्षित तथा ब्याज आम्दानी हुने साधनमा पर्याप्त लगानी राखिएको तथा लगानीको गुणस्तर राम्रो रहेको, पर्याप्त पुनर्बीमा व्यवस्थापन र देशभर विस्तार भएको शाखा सञ्जालले कम्पनीलाई थप बलियो बनाएको मूल्यांकन प्रतिवेदनमा उल्लेख छ । नियामक न्यूनतम मापदण्डभन्दा माथि कायम रहेको सोल्भेन्सी अनुपात पनि कम्पनीको शक्तिशाली पक्ष मानिएको छ । आगामी दिनमा बीमा व्यवसायको विविधीकरण, लगानीको गुणस्तर कायम राखी प्रिमियम वृद्धिलाई निरन्तरता दिनु तथा सधैं न्यूनतम पुँजी र सोल्भेन्सी अनुपात कायम राख्न सफल हुनु कम्पनीको भविष्यमा मूल्यांकन निर्धारण गर्ने मुख्य पक्ष हुने बताइएको छ । कम्पनीले पछिल्ला वर्षहरूमा सकारात्मक विकास देखाउँदै जीवन बीमा क्षेत्रमै आफ्नो उपस्थितिलाई मजबुत बनाउँदै लगेको छ । कम्पनीले ग्राहक विश्वास वृद्धि गर्दै अझ मजबुत संस्थागत ढांचा निर्माणतर्फ अघि बढेको प्रतिवेदनमा भनेको छ । आर्थिक वर्ष २०८१।८२ मा सन नेपाल लाइफले बीमक कम्पनीको पुनर्बीमा निर्देशिका–२०८० अनुसार व्यापक पुनर्बीमा संरचना अपनाएको छ । यसअनुसार सबै बीमा व्यवसायमध्ये ६–६ प्रतिशत दरले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ, जसको कुल हिस्सा १२ प्रतिशत हुन्छ । बाँकी ८८ प्रतिशत जोखिममध्ये अधिकांश योजनामा कम्पनीले १२ लाख रुपैयाँसम्मको जोखिम आफैँ राख्ने व्यवस्था ९रिटेन्सन० गरेको छ । रिटेन्सनपछि बाँकी जोखिममध्ये ३० प्रतिशत अनिवार्य रूपमा पुनर्बीमा गरिन्छ, जसमा १५–१५ प्रतिशत नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गरिएको छ । बाँकी जोखिम नेपाल पुनर्बीमा कम्पनीलाई मुख्य पुनर्बीमकको हैसियतमा हस्तान्तरण गरिएको छ । दुर्घटना मृत्यु लाभ, स्थायी पूर्ण अशक्तता तथा गम्भीर रोग लाभजस्ता अतिरिक्त बीमा लाभहरूमा पनि यही अनुपातमा पुनर्बीमा गरिएको छ । सूक्ष्म मुद्दती तथा संयुक्त मुदती बीमा योजनाहरूमा प्रत्यक्ष १२ प्रतिशत हस्तान्तरणपछि बाँकी जोखिममध्ये ४५ प्रतिशत कम्पनीले आफैँ राख्ने र ५५ प्रतिशत पुनर्बीमा गर्ने व्यवस्था लागू गरिएको छ । ऋण सुरक्षा बीमा योजनामा प्रत्यक्ष १२ प्रतिशत हस्तान्तरणपछि बाँकी सम्पूर्ण जोखिम कम्पनीले आफैँ राख्छ, अर्थात् त्यसमा थप पुनर्बीमा गरिँदैन । वैदेशिक रोजगारीबीमा योजनामा भने नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार सामूहिक पुनर्बीमा संयन्त्र (पुल पुनर्बीमा व्यवस्था) लागू गरिएको छ, जसले बीमाधारकको सुरक्षा सुनिश्चित गर्दछ । कम्पनीको सञ्चालक समिति अनुभवी सदस्यहरूले नेतृत्व गरिरहेको छ ।

कम्पनीको सञ्चालक समितिमा कुल ६ जना अनुभवी सदस्यहरूको उपस्थिति छ भने समितिको नेतृत्व अन्जु केयलले गरिरहेका छन् । कम्पनीको दैनिक सञ्चालन तथा समग्र व्यवस्थापन प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको नेतृत्वमा भइरहेको छ । कम्पनीको प्रवद्र्धक समूहमध्ये अधिकांश शेयर विभिन्न प्रतिष्ठित व्यक्तिहरू तथा संस्थाहरूको स्वामित्वमा रहेको छ । तीमध्ये मुख्य रूपमा केयल समूह, के(सी. समूह र रुँगटा समूहसँग सम्बन्धित व्यक्तित्व तथा संस्थाहरू प्रवद्र्धकको रूपमा संलग्न छन् । कम्पनीले देशैभर आफ्नो सेवा विस्तार गरेको छ । २०८२ साल असार मसान्तसम्म कम्पनीका ४९ शाखा (मुख्यालयसहित) र ९९ उप–शाखा सञ्चालनमा रहेका छन् । यी शाखाहरू नेपालका सातै प्रदेशमा फैलिएका छन् र कुल ७७ मध्ये ७० जिल्ला कवरेजमा रहेका छन् । साथै, कम्पनीसँग हाल ४० हजार ४३८ जना बीमा प्रतिनिधिहरू (एजेन्ट) रहेका छन् । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बीमा प्रतिनिधिको संख्या ३८ हजार ३९३ थियो । प्रतिनिधिको सञ्जाल थप विस्तार हुँदा कम्पनीका बीमा सेवा तथा योजनाहरू देशभरका सर्वसाधारणसम्म सहज रूपमा पुगेका छन् । सन नेपाल लाइफ कम्पनी ऐन २०६३ अनुसार कम्पनी दर्ता कार्यालयमा २०६४ साल असोज ३० गते दर्ता प्राप्त गरेको हो । कम्पनीले बीमा बोर्डबाट २०७४ साल साउन १८ गते बीमा सञ्चालन अनुमति प्राप्त गरेको थियो । कम्पनीको सम्पत्ति आधार आर्थिक वर्ष २०८१।८२ को असार मसान्तसम्म १८ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *