अफगानिस्तानमा शक्तिशाली भूकम्प

काठमाडौं । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूला सहरमध्ये एक मजार–ए–शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका देशको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान सबेरै गएको यो भूकम्पको केन्द्रविन्दु मजार–ए–शरीफ सहरनजिकै २८ किलोमिटरको गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । मजार–ए–शरीफ बाल्ख प्रान्तको राजधानी र उत्तरी अफगानिस्तानको सबैभन्दा बढी जनसंख्या भएको सहरमध्ये एक हो । अफगानिस्तानमा हालैका वर्षमा भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको छ ।

यूएसजीएसका मोडेलले यो भूकम्पको कम्पनबाट सयौँको मृत्यु हुन सक्ने अनुमान गरेका छन् । भूकम्पबाट मजार–ए–शरीफको निलो मस्जिद (ब्लु मस्क)मा पनि देखिने गरी क्षति पुगेको छ । यो मस्जिद अफगानिस्तानको वास्तुकलाको खजाना र प्रमुख तीर्थस्थल हो । सीएनएनले ‘जियोलोकेट’ गरेको सामाजिक सञ्जाल फुटेजमा मस्जिदबाहिर जमिनमा भग्नावशेष छरिएको देखिन्छ । यो स्थानलाई इस्लामका चौथो खलीफा र पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको विश्रामस्थल मानिन्छ । यूएसजीएसका अनुसार, यो भूकम्प उत्तरी अफगानिस्तानको सीमा जोडिएका तीन देश – ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानमा पनि महसुस गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *