गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले भोलि अर्थात् कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंक सञ्चालक समितिले कात्तिक २७ गते पोखरा, कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३४ करोड ८ लाख ३१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशतका दरले २५ करोड ७३ लाख २७ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, ​​बैंकको सभाले सञ्चालक समितिको निर्णय बमोजिम मर्जर तथा एक्विजिसन प्रस्ताव पारित गर्नेछ ।

कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ति गर्ने, उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमति गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्न, नियामकसँग सहमति लिने लगायत सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ कायम गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका २, लाजिम्पाटबाट वडा नम्बर ३, बालुवाटारमा स्थानान्तरण गर्ने, बैंकको छाप तथा लोगो परिवर्तन गर्ने, सञ्चालकहरूलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गरिने रकम वृद्धि गर्ने र प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२।८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *