महामन्त्रीद्वयको प्रस्ताव पुसमा, संस्थापन पक्षको वैशाखमा
काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादनको अनौपचारिक बैठक सकिएको छ । बैठकमा महाधिवेशन र चुनावको विषयमा ठोस धारणा बनेको छैन । समूह समूहमा छलफल गर्दा पनि सहमति नजुटेपछि अन्त्यमा महामन्त्रीहरू र सहभागीका तर्फबाट वार्ता भएको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह कृष्ण सिटौला र विजय गच्छदारले वार्ता गरेका हुन् । वार्ताबाट भोलिदेखि केन्द्रीय समिति बैठक सञ्चालन गर्ने समझदारी बनेको छ। त्यसबाहेकका विषयमा भने सहमति जुट्न सकेको छैन। वार्तामा सहभागी एक नेताका अनुसार नेता निधिले सहमति भएका विषयहरूमा निर्णय गर्दै जाने र असहमतिका विषयमा सहमति खोज्दै जाने प्रस्ताव गरेका थिए । उनले निर्वाचनमा सहभागी हुने विषयमा कांग्रेसमा कसैको पनि मतभेद नरहेको भन्दै त्यसमा निर्णय गरेर जाने र निर्वाचनको वातावरण बन्ने गरी एउटा सन्देश दिनुपर्ने प्रस्ताव गरेका थिए।
निर्वाचनमा सहभागी हुने विषयमा कांग्रेसमा कसैको पनि फरक मत छैन । त्यसैले भोलिको बैठकबाट निर्वाचनमा भाग लिने निर्णय सर्वसम्मत रुपमा गरौं, निधिको भनाई उद्धृत गर्दै ती नेताले भने, यो प्रस्ताव महामन्त्रीहरू मध्येबाटै ल्याउनुस् र सर्वसम्मत निर्णय गरौं। निधिको प्रस्तावमा महामन्त्री विश्वप्रकाश शर्माले एकैपटक सबै निर्णय गर्ने भन्दै अहिले एउटा मात्र निर्णय गर्नु ठिक नहुने बताएका थिए । एउटा–एउटा विषयमा निर्णय गरेर जानु उपयुक्त हुँदैन । त्यसैले महाधिवेशन र निर्वाचनका विषयमा एकसाथ निर्णय गरौं, शर्माको भनाइ उद्धृत गर्दै ती नेताले भने। महाधिवेशनका विषयमा भने महामन्त्रीद्वयकले पुस मसान्त र संस्थापन पक्षका तर्फबाट वैशाखमा महाधिवेशन गर्ने अडान कायम भएपछि मङ्गलबारको बैठकमा दुवै पक्षले धारणाका रूपमा कार्यतालिका प्रस्ताव गर्ने समझदारी बनेको छ । ती नेताका अनुसार महामन्त्री गगन थापाले धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । सहमहामन्त्री महेन्द्र यादवले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछन् । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ ।
















