चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त
काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को काठमाडौंको गणेशथानमा आज चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । शुभमुहूर्तमा चलचित्रका कलाकार हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौलालगायत कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश, जितु र दीपाश्रीसँगै सीताराम कट्टेल (धुर्मुस), सागर लम्साल (बले), जनी गुरुङलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–को हुन् भन्ने प्रष्ट पारिएको छैन ।
पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यो चलचित्रमा द्रौपदी को हो ? पाण्डवहरूको बाबु पाण्डु को हो ? पनि निर्माणपक्षले खुलाएको छैन । काली रानी फिल्मसको प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । चलसिचत्रको निर्माणमा बजेटका कारण कुनै ‘कम्प्रमाइज’ हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए । उनले सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने दाबी गरे । केही महिनाभित्र चलचित्रको छायाकंन सुरु हुनेछ ।















