जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान
काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन थालेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो । गएको भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट भदौ २४ गते प्रदर्शनकारीले संसद् भवन, सिंहदबारमा आगजनी गरेका थिए ।
प्रहरी कार्यालयमा पनि आगजनी गरिएको थियो । त्यसक्रममा तीन प्रहरीको समेत ज्यान गएको थियो । प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेको थियो । प्रदर्शनपछिको अन्तरिम सरकारले घटनाबारे जाँचबुझ गर्न आयोग बनाएको हो । बुधबार (कात्तिक १९) आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिएको थियो । फिल्डमा खटिएका अधिकृतलाई बिहीबार बयान दिन बोलाइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।















