देशलाई ‘छाडातन्त्र’मा चलाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले सो कुरा बताएका हुन् । ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर गरे । राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको उनको भनाइ छ । यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो ।
यो असंवैधानिक ढंगले भंग गरेको छ, सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ,ओलीले भने, संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नु भएको छ । गर्नु हुँदैन्थ्यो । त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दछौँ । त्यसका लागि आन्दोलन गर्दछौँ र अगाडि बढछौँ । संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले आफूहरूले त्यसको पुनर्स्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क थियो ।















