बत्तीसपुतलीमा नियमित महाधिवेशन पक्षधरको भेला
काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले भेला आयोजना गरेको छ । वडादेखि केन्द्रसम्म नियमित महाधिवेशनका लागि दबाब दिन भेलाको आयोजना गरिएको जनाइएको छ । भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको छ । भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाको अध्यक्षतामा बसेको भेलामा कोसी प्रदेश सभापति उद्धव थापा, कोसी महामन्त्री भुपेन्द्र राई, मुगु सभापति ऐनबहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खमबहादुर खर्बुजा, अछाम सभापति पुष्पबहादुर शाहलगायत नेता कार्यकर्ता सहभागी छन् ।
भेलामा वक्ताहरूले मंसिरभित्र महाधिवेशन गर्न नसके सिंगो कार्यसमिति असफल भएको ठहर्ने तर्क गरेका छन् । उनीहरूले पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरेपछि महाधिवेशनको आन्तरिक तयारीमा असर पार्ने भन्दै मंसिरभित्रै महाधिवेशन गर्न माग गरेका छन् । उनीहरूले मंसिरभित्र महाधिवेशन नभए केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाएर चुनावमा भाग लिन माग गरेका छन् ।
















