रवि र छबिको मुद्दामा जिल्लाको फाइल झिकाउन आदेश
काठमाण्डौं । उच्च अदालत बुटवलले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशी सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अन्य फाइलहरू माग गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले मुद्दाको मिसिल झिकाउने निर्णय गरेको हो । जिल्ला अदालतबाट फाइल पेश भएपछि, लामिछानेले बिगो बराबर रकम जम्मा गरी थुनामुक्त हुन गरेको मागको निवेदनमाथि सुनुवाइ हुनेछ । सुनुवाइको क्रममा सुरुमा जोशीका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गर्दा, न्यायाधीशहरूले मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल पेश गर्न आदेश दिएका थिए ।
आजको इजलासमा लामिछानेका कानुन व्यवसायीले बहस नै गर्न नपाइ समाप्त भएको हो । लामिछानेले बिगो रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्नका लागि निवेदन दिएका थिए र उच्च अदालतले उनकोसँगै जोशीको फाइल पेश गर्न आदेश दिएको थियो। यसअघि पनि उच्च अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको थियो। सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गर्नुपर्ने माग गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
















