विकास बैंकको नाफा ७८ करोड ३४ लाख

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा प्रभावित भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा ४५.२० प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्ममा १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले चालु आर्थिक वर्षको सोहि अवधिमा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ मात्रै पुराएका हुन् । यसअवधिमा ४ बैंकको नाफा घटेको देखिएको छ भने ३ कम्पनीको मात्रै सुधार भएको छ । लुम्बिनी विकास बैंकको नाफा भने ऋणात्मक रहेको हो । सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो नाफा ११ प्रतिशतले बढाएर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ पुराएको हो ।

सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक दोस्रो नम्बरमा भएपनि नाफा भने घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैंकको नाफा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको छ । यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २३ करोड ९३ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्मको अवधिमा कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढेर १९ करोड ७५ लाख, महालक्ष्मी विकास बैंकको ३.४२ प्रतिशतले बढेर ९ करोड ७५ लाख रुपैयाँ रहेको छ । यता, सर्वाधिक नाफा वृद्धि गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको नाफा ४६.५८ प्रतिशतले बढेर ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । साथै, ज्योति विकास बैंकको नाफा ५३ प्रतिशतले घटेर ७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्मको अवधिमा लुम्बिनी विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । बैंकको नाफा ३४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *