विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने
काठमाडौं । नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने भएको छ । भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै कात्तिक २२ गतेबाट आवागमन बन्द गर्न लागिएको हो । रौतहट जिल्ला प्रशासन कार्यालयले शनिबार (कात्तिक २२) साँझ ६ बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ । यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मंगलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ बजेदेखि २५ गते मंगलबार साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुनेछ, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठकपश्चात दुई देशमा हुने निर्वाचन हुनुभन्दा ७२ घण्टाअगावै सीमा सिल गर्ने चलन रहिआएको छ । सोहीअनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल–भारत सीमा क्षेत्रमा हुने आवागमन पूर्ण रूपमा बन्द हुने गरेको छ ।
















