एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भुसाल संयोजक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई संयोजक चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिए । ६७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा भुसालले वर्तमान अवस्था र हाम्रो दायित्वको सन्दर्भमा बैठकलाई सम्बोधन गरेका थिए ।
उक्त बैठकले आगामी मङ्सिर महिनामा हुने राष्ट्रिय भेलाको तयारीका बारेमा व्यापक छलफल गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू माओवादी केन्द्रसहितका दलसँगको एकता प्रक्रियामा सहभागी भएपनि भुसाल लगायतका नेता सहभागी भएका थिएनन् । पार्टीको बहुमत पक्ष नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदा भुसाल पक्ष पुरानै पार्टी पुनर्गठन र रामकुमारी झाँक्री लगायतका केही नेताहरू एमाले प्रवेशको तयारीमा छन् ।
















