पुस २९ भित्र विशेष महाधिवेशन बाध्यात्मक छ : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन महिनाभित्र विशेष महाधिवेशन बाध्यात्मक रहेको बताएका छन्। ५४ प्रतिशत (२४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकोले त्यसको तीन महिना (पुस २९) भित्र विशेष महाधिवेशन गर्नु विधान अनुसार बाध्यकारी रहेको महामन्त्री शर्माको भनाइ छ। ‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा अहिलेको मूल प्रश्न होइन। मूल प्रश्न जे हो त्यसलाई प्रष्ट ढंगले बुझौं,’ महामन्त्री शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको बिधानले बाधा गर्दैन तर विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७(२) को स्पष्ट निर्देशन छ, यो बाध्यात्मक छ’ उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेको विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न रहेको पनि बताए। ‘विशेष महाधिवेशनको मागलाई कि विशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्दछ यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरूरी छ,’ उनले भने, ‘केन्द्रीय समितिमा चलिरहेको छलफल पार्टी र राष्ट्रिय जीवनका लागि महत्त्वपूर्ण छ ,

केही दिनभित्रै हामीले एकता र परिपक्वता साथ निर्णयमा पुग्नु पर्नेछ।’ महामन्त्री शर्माले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्न सुझाव दिएका थिए। त्यसअनुसार महामन्त्री गगन थापाले केन्द्रीय समितिमा सोही तिथिमितिको कार्यतालिका पेस गरेका छन् तर सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारी सहमत नहुँदा महाधिवेशन कार्यतालिका आउन सकेको छैन। केन्द्रीय समिति बैठक कात्तिक २५ गते बिहान ११ः३० बजे बस्ने गरी स्थगित छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *