अब मतदाता नामावली सहजै बनाउन सकिने, राष्ट्रिय परिचयपत्र भए पुनः बायोमेट्रिक दिन नपर्ने निर्णय

काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको जानकारी दिए। यो व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने उनले बताए। बुधबार जेनजीसहितका सरोकारवालाको एक बैठकमा बोल्दै भण्डारीले भने, राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय हामीले गरेका छौं। यो नयाँ व्यवस्थाअनुसार, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन्। आयोगले उक्त आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग आबद्ध गरी प्रमाणीकरण गर्नेछ। यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता पनि हट्नेछ। आयोगको यो निर्णयले अध्ययन, रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीहरूलाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विदेश जाने अधिकांश नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेको उल्लेख गर्दै उनीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्ने बताए। विदेशमा बस्नेहरूले पनि अनलाइनमार्फत फाराम भर्न सक्नुहुन्छ। उहाँहरूको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकलाई हामीले यहाँ ९नेपालमा० जोड्ने व्यवस्था मिलाएका छौं । हाल मतदाता नामावली दर्ताका लागि देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको पनि उनले जानकारी दिए। अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ। नाम दर्ताको समय कात्तिक सम्म रहेको छ । जेनजी समर्थकहरू राष्ट्रिय परिचय पत्र विभाग र निर्वाचन आयोगका प्राविधिकसँग ३–४ दिनसम्म यसबारे छलफलमा रहेका थिए ।

राति–रातिसम्म बसेर गरिएको हाम्रो प्रयासपछि मतदाता परिचयपत्र बनाउने क्रममा राष्ट्रिय परिचयपत्र भएकालाई बायोमेट्रिक नदिन पर्ने प्रणालीको परीक्षण हिजो सफलतापूर्वक सम्पन्न भयो, जेनजी अभियानलाई साथ दिँदै आएका अभिनेता समेत रहेका रवीन्द्रसिंह बानियाँले भने । उनकाअनुसार नमुना फारम भर्ने क्रममा कुनै प्राविधिक समस्या नदेखिएसँगै आयोग अहिले निर्णय गर्ने स्थितिमा पुगेको हो । आन्दोलनका घाइते साथीहरू पनि अस्पतालमै बसेर विदेशमा हुनु भएकाहरूले विदेश बाटै भोटर कार्ड बनाउन पाउने बाटो खुलेको छ। यसैबिच पूर्वमन्त्री सुमना श्रेष्ठले आम नागरिक, विशेषगरी युवाहरूलाई आफ्नो स्मार्टफोन र ल्यापटप लिएर सडकमा निस्किई मतदाता नामावली दर्ता गर्न छुटेकाहरूलाई सहयोग गर्न आह्वान गरेकी छन्। राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण अब निर्वाचन आयोगले मतदाता नामावलीका लागि सोझै प्रयोग गर्न सक्ने व्यवस्था गरिसक‍ेको जानकारी दिँदै उनले यो प्रक्रिया पहिलेभन्दा निकै सहज भएको बताइन्। श्रेष्ठले रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा कार्यरत धेरै युवाहरूको मतदाता परिचयपत्र नभएकोतर्फ ध्यानाकर्षण गराउँदै उनीहरूलाई सहयोग गर्न विशेष आग्रह गरिन्। ुधेरैभन्दा धेरै साथीहरू आफ्नो स्मार्टफोन, आफ्नो ल्यापटप लिएर अब सडकमा जाऔँ, उनले भनिन्, ुरेस्टुरेन्टमा काम गर्ने हाम्रा धेरै युवा साथीहरूको भोटर आइडी छैन। उहाँहरूलाई भोटर आइडी बनाउन सहज गर्दिऔँ।ु उनले सडक, चोक वा अन्य सार्वजनिक स्थानमा लाइनमा बसेका मानिसहरूलाई मतदाता परिचयपत्र बनाएको वा नबनाएकोबारे सोध्न र आवश्यक परेमा आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन फारम भरिदिनसमेत सुझाइन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *