‘स्टुडेन्ट भिसा’मा यूएई पठाएर ठगी, १८ कन्सल्टेन्सीको संलग्नता
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)को ‘फ्रि जोन’मा इन्स्टिच्युट दर्ता गरी नेपाली विद्यार्थीहरुलाई ठगी गरेको पाइएको छ । नेपालमा सञ्चालित डेढ दर्जनभन्दा बढी कन्सल्टेन्सीले मोटो रकम लिएर ती इन्स्टिच्युटमा नेपाली विद्यार्थी पठाउने र त्यहाँ अलपत्र पार्ने गरेको पाइएको हो । पीडित विद्यार्थीहरुले यूएईको आबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा आफू ठगिएको भन्दै कन्सल्टेन्सीमाथि कारवाहीको माग गर्दै उजुरी दिएका छन् । दूतावास र महावाणिज्य दूतावासले ती उजुरी परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्र मन्त्रालयले उजुरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइसकेको छ । नेपालीका केही कन्सल्टेन्सीहरुले यूएईको फ्रि जोनमा इन्स्टिच्युट दर्ता गरी नेपालबाट बिभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरु दिनदिनै पठाइरहेको कुराको उजुरी आएको छ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, त्यस्ता विद्यार्थीहरूले यूएईमा दुःख पाइरहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । सो कुराको गहन छानबिन हुँदैछ । कोही पनि नफस्नु होला । कन्सेल्टेन्सीबाट ठगीएका चारजना विद्यार्थी बिहीबार (कात्तिक २७ गते) परराष्ट्र मन्त्रालय पुगेको थिए । परराष्ट्रले उनीहरुको गुनासो सुनेपछि उजुरी लिएको थियो । त्यसपछि उनीहरुलाई शिक्षासँग सम्बन्धित विषय शिक्षा मन्त्रालयले हेर्नेभन्दै त्यतैतिर पठाइएको थियो । आज केही पीडितहरु आउनु भएको थियो । शैक्षिक कन्सल्टेन्सी दर्ता र नियमन गर्ने काम शिक्षा मन्त्रालयको हुँदा हामीले उनीहरुलाई शिक्षा मन्त्रालय पठाएका छौं, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, धेरै मान्छे पीडित भएका रहेछन् । यूएईको फ्रि जोनमा दर्ता भएका शैक्षिक इन्स्टिच्युटहरुले नेपाली विद्यार्थीसँग मोटो रकम लिएपछि सम्पर्क तोड्ने गरेको गुनासो पीडितहरुको छ ।
यस्तो ठगी पहिलेदेखि नै भइरहेको रहेछ । तर अहिले ठगिनेको संख्या बढेको रहेछ, दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीले बाह्रखरीसँग भने, अहिले यसरी ठगिएका ३५ जना जति नेपाली हामीकहाँ आउनु भएको छ । यूएईको फ्रि जोनमा ‘ट्रेनिङ इन्स्टिच्युट’को रुपमा दर्ता भई आफूलाई युनिभर्सिटी दाबी गर्ने इन्स्टिच्युटहरु र नेपालका कन्सल्टेन्सी मिलेर ठगी गरेको जानकारी पीडितहरुले महावाणिज्य दूतावासलाई दिएका छन् । सबैभन्दा बढी ठगिने नेपाली यूएईको फ्रि जोनमा खोलिएका ब्रिटिस युनिभर्सिटी कलेज इन्टरनेसनल– एफ्जेड (बीआईसीयु) र सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिज् (सीएएमएस) इन्स्टिच्युटमा जानेहरु छन् । बीआईसीयूले पेरिस–अमेरिकन इन्टरनेसनल इन्स्टिच्युटबाट सम्बन्धन लिएको दाबी गरे पनि उसँग सम्बन्धन नभएको जनाइएको छ । फ्रि जोनमा सजिलै इन्स्टिच्युट खोल्न र बन्द गर्न सकिने हुँदा यस्ता केही इन्स्टिच्युट बन्द पनि भएका छन् । यस्ता इन्स्टिच्युटमा पढाइ पनि नहुने, शैक्षिक प्रमाण नदिने र सम्बन्धन पनि प्राप्त नगरेको पाइएपछि पीडितहरुले आफूहरुले ठगीमा परेको चाल पाएको महावाणिज्यदूत ओडारीले बताए ।
जानेर वा नजानेर यस ठगी धन्दामा नेपालका कन्सल्टेन्सी पनि सहभागी रहेको देखिएको छ। पीडितहरुले दिएको सूचनाअनुसार यूएईको फ्रि जोनमा खुलेका इन्स्टिच्युटमा नेपालबाट विद्यार्थी पठाउन १८ वटा कन्सल्टेन्सी सक्रिय रहेका छन् । सूचीअनुसार नेपालबाट यूएईको फ्रि जोनमा खुलेका इन्स्टिच्युटमा विद्यार्थी पठाउनमा प्रो एभिएसन् प्रा.लि., सटक्शी एजुकेशन फाउण्डेशन, एजुपोर्ट एजुकेशन कन्सल्टेन्सी, शिव ह्युम एजुकेशन कन्सल्टेन्सी, अक्सब्रिज इन्टरनेसनल कन्सल्टेन्सी, मेरिट्स इन्टरनेशनल कन्सल्टेन्सी र ब्राइटपथ एजुकेशन कन्सल्टेन्सी सक्रिय छन् । यस्तै, सिटीहव एजुकेशन नेटवर्क, एस्पायर ग्लोबल एजुकेशन, कान्तिपुर अब्रोड कन्सल्टेन्ट, सिटी पार्क एजुकेशन कन्सल्टेन्सी, मेनटोरा एजुकेशन कन्सल्टेन्सी, एक्सेल इन्टरनेशनल एजुकेशन प्रा.लि., सरम आई, एनटीइआर इन्टरसेशनल, ए।एस। एजुकेशन, सकुरा नेपाल कन्सल्टेन्सी प्रा.लि. र एजुगेट कन्सल्टेन्सी पनि सक्रिय रहेको जनाइएको छ ।
















