आन्दोलनमा घुसपैठ गर्नेमाथि सरकारले कारबाही नगरे व्यवसायीसँगै आमनागरिकको मनोबल खस्कँदै जाने छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ ‘जेनजी’ आन्दोलन भए पनि त्यसमा घुसपैठ गरिएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । उनले आन्दोलनमा घुसपैठ गर्नेमाथि सरकारले कारबाही नगरे व्यवसायीसँगै आमनागरिकको मनोबल खस्कँदै जाने बताए । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षा गर्न नसके मुलुकमा थप लगानी नहुने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ थियो । अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकामा उनले प्रशंसा गरे । बैंकमा ११ खर्ब रुपैयाँभन्दा बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै उनले लगानीको वातावरण तयार गर्न माग गरे । उनले धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनालाई आईपीओ जारी गर्न नदिएकामा असन्तुष्टि समेत जनाए । धितोपत्र बोर्डमा देखिएको समस्या तत्काल समाधान गर्न उनले अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरे ।

जेनजीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो, सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारणसभामा पनि पारितै गरेको अवस्था थियो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसाबबाट गलत घुसपैठ भयो, चोरी, आगजनी, लुटपाट, तोडफोडहरू भयो । वास्तवमा यसको यो गलत तत्त्वहरूको जुन घुसपैठ भएको छ, गलत गर्ने, घुसपैठ गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तब मात्र आमनिजी क्षेत्रको मनोबल उच्च हुनेछ । आन्दोलनको सही उद्देश्य र जुन एउटा आन्दोलन जुन हिसाबले भएको थियो, त्यसमा गलत तत्त्वको जुन प्रवेश गरेर जुन व्यक्तिगत तहमा उत्रेर उद्योग, व्यवसायहरू, व्यक्तिगत सम्पत्ति, घरलगायत क्षति भयो, यो गलत छ । सरकारले सुरक्षा दिन नसक्ने हो भने वास्तवमा आउने दिनमा यस्ता किसिमका घुसपैठहरू हुनेछन् । व्यक्ति, व्यवसायीको कन्फिडेन्स लुज हुनेछ । त्यसै गरेर म यहाँ के भन्न चाहन्छु भने, वास्तवमा यो आन्दोलनको बेलामा गलत घुसपैठको कारणबाट भएको तोडफोड आगजनी र नोक्सानी भयो र व्यवसायीहरूलाई जुन एउटा सहुलियत दिनको लागि अर्थ मन्त्रालयले छोटो समयमा काम गरेको छ, यो प्रभावकारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *