छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन बिचौलिया पक्राउ
काठमाडौं । प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन ुबिचौलियाुलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले विभागको मूलगेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई छिटोछरितो पासपोर्ट बनाइदिने भन्दै अतिरिक्त रकम लिने गरेका थिए । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेहरूले सेवाग्राहीलाई दुःख दिने तथा राहदानी विभागका कर्मचारीहरूको काममा समेत अवरोध पुर्याउँदै आएको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
















