भक्तपुर बचत संघको २१औं बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा हरिकृष्ण बल्ल
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१औं बार्षिक साधारण सभामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारीमा शुद्धिकरण आवश्यक रहेको तर कारोबार नै गर्न नदिने गरी नियन्त्रण गर्न नमिल्ने बताएका छन् । उनले सहकारी संघ संस्थाहरुले सुशासन कायम गरेमा सहकारीका धेरै समस्याहरु समाधान हुने बताउनुभयोे । प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाले कारोबार गर्न बचत तथा ऋण सहकारी संघ आबश्यकता रहेको उनले स्पष्ट पारे । सभामा अध्यक्ष ढकालले वर्तमान अवस्थामा सहकारी संघसंस्थाको अवसर र चुनौती विषयमा सहकारी शिक्षा प्रदान गरेका थिए । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा भएको सभामा बोल्दै सहकारीको विकल्प सहकारी नै भएकाले कुनै बैंङ्क तथा वित्तीय संस्था हुन नसक्ने उल्लेख गरे । समुदाय केन्द्रीत र सहकारी मुल्य मान्यता र सिद्धान्त बमोजिम सञ्चालित भएका सहकारी सङ्घसंस्थाहरुमा परिस्थितिवश केहि समस्या भएतापनि जटिल समस्या नरहेको उनले उल्लेख गरे ।
विषम परिस्थितिमा सदस्य तथा समाजमा सेवा पु¥याइरहेका सहकारी सङ्घ संस्थाहरुलाई सकुञ्चनमा ल्याउन र जिल्ला बचत सङ्घ लगायत सहकारी सङघहरुलाई आफ्नो सदस्य संस्थाहरुबीचको वित्तीय कारोवारलाई रोक लगाउने खालका मापदण्ड र निर्देशनहरु जारी भएकोमा आफूहरुले विरोध जनाउदै आएको उनले उल्लेख गरे । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघ स्थापनाको मर्म बमोजिम संघले कार्य गर्दै आएकोमा खुशी व्यक्त गरे । संघका उपाध्यक्ष हरीकृष्ण बल्लले स्वागत मन्तव्य राख्दै नियमनकारी निकायको बहु निर्देशनको चपेटामा सहकारी संघसंस्थाहरु रहेको बताए । संघका सचिव जगनाथ प्रजापतिले संघको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लामो समयदेखि स्वायतता र स्वःनियमको नाममा एकलौटी व्यवसाय झैं सञ्चालन गरिरहेका सहकारीका सञ्चालकहरूले जनताको निक्षेप फिर्ता नदिई भाग्ने प्रवृति अझै रोक्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले सहकारी अभियानमा देखापरेका विकृति र विसंगति रोक्न आफैंबाट सुरु गर्नुपर्ने आवश्यकता औल्याए । जनताको पैसा निक्षेप फिर्ता नदिई भाग्ने सञ्चालक तथा कर्मचारीहरुलाई कुनै पनि राजनैतिक दवाव र प्रभावमा नपारी हदैसम्मको कार्वाही गर्नुपर्ने उनले विचार राखे ।
संघका कोषाध्यक्ष कान्छाभक्त घःजुले आर्थिक प्रगति प्रदिवेदन पेश गर्दै बचत तथा ऋण सहकारीमा बचत तथा ऋणको सन्तुलन कायम गर्न चुनौती बढेको बताए । उनले सहकारी संघ संस्थामा तरलता बढ्दै गएको तर ऋण मागका कमीका कारण ऋण लगानी घट्दै जाने अवस्थाले सहकारी सञ्चालनमा सकस थप्दै लगेको बताए । उनले पेश गरेका आ.व.२०८१।०८२ को वासलात रु। तीन अर्ब बाह« करोड, आय रु. एक करोड सात लाख सहितको आर्थिक प्रगति प्रतिवेदन र आ.व.२०८२।०८३ को वासलात रु तीन अर्ब पन्ध्र करोडको अनुमानित बजेट सभाले पारित गरेको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व. २०८१।०८२ को लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गर्दै मौजुदा सहकारी ऐन, कानुन र निर्देशनका आधारमा संघको कारोबारलाई सीमिततामा ल्याउँदा अझ घट्ने भएकोले संघ सबलिकरणका कार्यक्रम तथा योजना ल्याउनुपर्ने विचार व्यक्त गरे । सभाले शेयर लाभांश कोषबाट ४.६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सहकारी ऐन तथा नियमावली अनुसार संरक्षित पुँजी फिर्ता कोष फिर्ता गर्ने प्रस्ताव समेत पारित गरेको थियो । संघको सो साधारणसभाबाट अध्यक्ष हरिकृष्ण बल्लको नेतृत्वमा ९ सदस्यीय संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर न्यौपानेको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो ।
















