संसद् पुनर्स्थापनाबारे कांग्रेस र एमालेले गरे सभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । ‘अनौपचारिक भेटघाट हो । चिया–कफी खाँउ भनेर गएका थियौं । अनौपचारिक कुराकानी भयो । संसद् पुनर्स्थापनाबारे पनि कुराकानी भयो । आगामी निर्वाचन हुन्छ कि हुँदैन, यस्तै चिया गफ,’ घिमिरेले अनलाइनखबरसँग भने । घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । ‘म संसद् पुनर्स्थापनाकै पक्षमा हो । संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्छ भन्ने हो । यसका लागि संसद् पुनर्स्थापना हुनुपर्छ । गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । आगामी २१ फागुनका लागि चुनावको मिति तय भएको छ । निर्वाचन तयारी अन्तर्गत निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । आगामी ६ माघमा उम्मेदवारी दर्ताको समय छ । यता निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय सुरु भएको छ । आजदेखि यही १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने समय सीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतले पहिलो दिन नै निर्वाचन आयोग पुगेर निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिइसकेका छन् ।

कांग्रेस र एमाले भित्र भने प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने बहस चलिरहेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले यो विषयमा निर्णय लिएको छैन । एमालेले भने प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिसकेको छ । कांग्रेस र एमालेले विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर समेत संकलन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा विघटित प्रतिनिधिसभा सदस्यहरूको हस्ताक्षर संकलन गरेका दुवै दलका प्रमुख सचेतकले सभामुख घिमिरेसँग यो विषयमा छलफल गरेका हुन् । नेताहरूका अनुसार कांग्रेसका ४६ र एमालेका ३२ जनाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् । यी लगायतका विषयमा छलफल गर्न एमालेले मंगलबार विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक राखेको छ । मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न भनेर राखिएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *