संसद् पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ : प्रधानमन्त्री
काठमाडौं । बुधबार सर्वदलीय बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव रहेको बताएकी छन् । लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले साथ सहयोगको अपेक्षा गरिन् । म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु– मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस् । यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो। उनले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने उल्लेख गरिन् । उनले निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने बताइन् । अब संसद् पुनर्स्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ । तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ ।
















