एनएमबी बैंकको सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी
काठमाडौं । एनएमबी बैंकले नेपालमा पहिलो पटक सफ्टपोस सेवा सुरु गरेको छ । डिजिटल भुक्तानी प्रविधिमा यो एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ । ‘यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरूबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यम लगायत अन्य व्यवसायीले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन्’ बैंकले विज्ञप्तिमा भनेको छ।
‘यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सुविधा दिनेछ ।’ सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवा लगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिइएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको यो ठूलो पाइला रहेको बताए । ‘हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।















