शुभप्रभात सहकारी संस्थाको वित्तीय सूचाकांक बलियो
सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–९, सिन्धुपाल्चोकमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार शेयर पुँजी र जगेडा कोष बलियो रहेको छ । संस्थाको यस आर्थिक वर्षको कातिक मसान्तसम्म शेयर पुँजी ४ करोड ३५ लाख १४ हजार र जगेडा कोष ४ करोड ११ लाख २९ हजार पुगेको छ । बचत तथा ऋणको कारोबार गर्ने संस्थाको लागि शेयर पुँजी र जगेडा कोषलाई मेरुदण्डका रुपमा लिइन्छ । संस्थाले यी दुबै सुचांकहरुलाई बलियो बनाउँदै लगेको छ । राष्ट्रिय सहारी नियमन प्राधिकरणले पुँजीको आधारमा संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्न पाउने व्यवस्था गरेको छ । सदस्यबाट बचत लिन र ऋण लगानीका लागि समेत संस्थागत पुँजी बलियो हुनु पर्ने भएकाले शुभप्रभात सहकारीले उक्त कोषलाई मजवुद बनाउँदै लगेको छ ।
त्यसैगरी संस्थाको संस्थागत पुँजी ४ करोड २६ लाख ६० हजार अन्य कोषमा ८४ लाख रकम रहेको छ । संस्थाले गत कातिक मसान्तसम्म ५३ करोड ६१ लाख बचत संकलन गरी ३० करोड ३९ लाख ऋण लगानी गरेको व्यवस्थापक सुरेन्द्र तिवारीले जानकारी दिए । संस्थामा अधिक तरलता रकम रहेको छ । सदस्यहरुबाट ऋण माग नहुँदा संस्थामा तरलता बढेर ६१ प्रतिशत अर्थात ३२ करोड ७४ लाख ९० हजार पुगेको छ । सदस्यहरुमा उद्यमशीलता विकास गरी ससानो पुँजी ऋणको रुपमा परिचालन गरी संस्थाको तरलतालाई व्यवस्थापन गर्नु अहिलेको चुनौती रहेको देखिन्छ। संस्थामा ६ हजार ३७२ जना सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति ६६ करोड ९१ लाख ३३ हजार पुगेको छ । संस्थाबाट ६ सय ९ जना सदस्यले मात्र ऋण लिएर आयआर्जनको साथै अन्य व्यवसाय गर्दै आएका छन् । संस्थाले बालबालिकाहरुमा समेत बचत गर्ने भावनाको विकास गर्ने उदेश्यले बाल तथा कोपिला बचत सञ्चालनमा ल्याएको छ । संस्थामा ४ सय माथि बाल बचतकर्ता रहेका छन् । आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आएको उक्त संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्य र समुदायलाई सेवा प्रदान गर्दै आएको छ ।















