पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो । पोखराका कप्तान तथा मार्की कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जितसम्म डोहोर्‍र्याउन सकेनन् । उनले ३२ बलमा चार चौका र चार छक्कासहित ५३ रन बनाए । १५.३ ओभरमा ५० रन पूरा गरेका भुर्तेल लगत्तै अर्को बलमा बोल्ड भए । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिनले बोल्ड गरे । जारी प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । भुर्तेलले यसअघि विराटनगर किंग्सविरुद्ध ५९ रनको अर्धशतकीय इनिङ खेलेका थिए । भुर्तेल जारी सिजन लगातार दोस्रो अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि चितवन राइनोजका रवि बोपाराले दुई खेलमा लगातार अर्धशतक बनाएका थिए । दोस्रो इनिङको आठौँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले जीवनदान पाए । दीपेन्द्रसिंह ऐरीले गरेको उक्त ओभरको पहिलो बलमा भुर्तेल आठ रनमा हुँदा जस ब्रोनले क्याच छुटाएका थिए । यसबाहेक, जिम्मी निसमले आक्रामक ब्याटिङ गर्दै २५ बलमा दुई चौका र पाँच छक्कासहित ४७ रन बनाए । निसम र कुशलले ३०–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति ७५ रनको साझेदारी गर्दै पोखराको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ११.३ ओभरमा जिम्मी निसमलाई सुदूरपश्चिमका कप्तान ऐरीले बोल्ड गरेपछि पोखराको लयमा ‘ब्रेक लाग्यो । यी दुईबाहेक, अन्तिममा डान डाउथवेटले १६ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाए । अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सुदूरपश्चिमका हर्मित सिंहले दुई विकेट लिए । यस्तै, स्कट कुग्गेलिन, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक विकेट लिए । टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका ओपनर जस ब्रोनले सर्वाधिक ६५ रन बनाए । उनले ३५ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । ब्रोनले पहिलो विकेटका निम्ति अर्का ओपनर विनोद भण्डारीसँग १०.४ ओभरमा १०८ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । जारी एनपीएलमा पहिलो विकेटका निम्ति बनेको यो नै सबैभन्दा ठूलो शतक हो । ब्रोन र विनोदले यसअघि काठमाण्डूका आकाश त्रिपाठी र बेन चाल्र्सवर्थको नाममा रहेको ७० रनको साझेदारीको कीर्तिमान तोडेका हुन् । यस्तै, प्रतियोगिताको यो दोस्रो शतकीय साझेदारीसमेत हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखराविरुद्ध नै दोस्रो विकेटका निम्त १३२ रनको शतकीय साझेदारी गरेका थिए ।

सुदूरपश्चिमका विनोद भण्डारीले ४२ बलमा ६ चौकासहित ४३ रन थपे । यसअघि पहिलो खेलमा यी दुवै ओपनर ‘डक भएका थिए । यस्तै, अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिनले १३ बलमा चार चौका र दुई छक्कासहित ३१ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा एक चौका र एक छक्कासहित १५ रन बनाए । यसअघि काठमाण्डू गोर्खाजविरुद्ध ५३ रन बनाउँदै ‘प्लेयर अफ दी म्याच चुनिएका हर्मित सिंह आज भने चार रनमात्र बनाएर पभेलियन फर्किए । स्कट कुग्गेलिनले ६ बलमा एक छक्कासहित आठ रन बनाए । आरिफ सेख ‘डक भए । इशान पाण्डे ६ र नरेन साउद चार रनमा अविजित रहे । पोखराका जिम्मी निसमले तीन विकेट लिए । चार ओभर बलिङ गरेका निसमले ४७ रन खर्चिए । डान डाउथवेट र आकाश चन्दले समान दुई विकेट लिए । जितसँगै दुई खेलबाट चार अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डू गोर्खाजलाई २९ रनले पराजित गरेको थियो । यता, लगातार दुई हार बेहोरेको पोखरा भने तालिकाको पुछारमा छ । पोखराले यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो । प्रतियोगितामा शनिबार दुई खेल दिनको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्ससँग र दोस्रो खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजसँग खेल्ने तालिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *