सजिलो नेट र एभरेस्ट इन्जिनियरिङ कलेजबीच सम्झौता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेस्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । शिक्षालाई प्रविधिसँग जोड्ने उदेश्यसहित गरिएको उक्त समझदारी पत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे । समझदारी समारोहमा बोल्दै सजिलो नेटका तर्फबाट सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेस्ट कलेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । सीईओ कार्कीले उक्त सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिवद्धतामा हुने बताए । यो सहकार्य एउटा कागजी रूपमा मात्र होइन, यसमा हाम्रो साझा दृष्टिकोण र प्रतिबद्धता छ ।

शैक्षिक जगतलाई व्यवहारिकतासँग जोड्ने प्रयास हो, उनले भने, पढिसकेपछि साथीहरू जागिरका लागि आउनुहुन्छ, तर उहाँहरूसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ति गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ । त्यस्तै क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले कलेजबाट पास आउट भएर विद्यार्थीहरू गए पनि बजारबाट व्यावहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे । अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरूमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ। साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *