सिजी ग्रुप अफ कम्पनीले तिर्यो राज्यलाई २५ अर्ब ५९ करोड राजस्व
काठमाडौं । सिजी ग्रुप अफ कम्पनीले गत आर्थिक वर्षमा राज्यलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको छ । सिजीले तिरेको कर कुल राजस्वको २.३ प्रतिशत हो । विभिन्न चुनौतिकाबीच सिजी ग्रुपले राज्यलाई उक्त रकम कर तिरेको छ । आज नेपाल उद्योग परिसंघले ‘राजश्व प्रणालीमा सुधारः सार्वजनिक निजी संवाद विषय कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पनि एक घरानाले नै कुल राजस्वको २.३ प्रतिशत कर तिरेको बताए । सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अर्थमन्त्रीले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख जानकारी गराए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘ग्रुप अफ कम्पनीजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि माननीय अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभार । गत वर्ष सीजीले रु २५.५९ अर्ब कर तिर्दै राष्ट्रको कूल राजस्वको करिब २।३ प्रतिशत योगदान दियो । चुनौतिबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व छ। गत आर्थिक वर्ष २०८०।८१ मा १८.५२ अर्ब कर तिरेको चौधरी ग्रुपले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको छ ।
यो सँगै विगत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ कर तिरेको छ । कमजोर आर्थिक गतिविधि, आयात–निर्भर बजार, नीतिगत अस्थिरता तथा निजी लगानीमा आएका बाधाका बाबजुद पनि चौधरी ग्रुपले निरन्तर करमा वृद्धि गर्दै आएको छ । यसले राष्ट्रका विकास योजनाहरू, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण तथा सार्वजनिक सेवाका क्षेत्रमा राज्यलाई थप आधार प्रदान गर्ने चौधरी ग्रुपले विश्वास लिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार, चौधरी ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तारमार्फत राजश्व योगदान बढाउँदै लगिरहेको छ। नेपालमा व्यवसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा अझै स्थापित नभएकाले कतिपय समयमा करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुनेगर्छ। यस्तो अवस्थालाई अन्त्य गर्दै चौधरी ग्रुपले हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ । यसले राष्ट्र निर्माणमा व्यवसायिक क्षेत्रको भूमिकालाई स्पष्ट पार्नुका साथै, सरकारलाई पनि समूहगत कर योगदान छुट्टै गणना गरी पारदर्शी रूपमा खुलाउने संयन्त्र विकास गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

















