आम नागरिक र उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ : अध्यक्ष ढकाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेट्दै राष्ट्रपति पौडेलले लगानीकर्ताको मनोबल घट्नु अर्थतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गरे । नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधहरुसंग शीतल निवासमा भएको भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले आम नागरिक र निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको बताए । ‘भाद्र २३ र २४ गते जुन घटना भयो । राष्ट्रिय तथा निजी सम्पत्ती माथी आगजनी र तोडफोड भयो । जनधनको ठुलो क्षति पुग्यो । यो दुःखद छ,’ राष्ट्रपति पौडेलले भने, ‘तर म उद्योगी व्यवसायीहरुलाई हतोत्साहित नहुन आग्रह गर्दछु । राज्य तपाईंहरुको साथमा छ ।’ राष्ट्रपतिले देशको अर्थतन्त्रको प्रमुख आधार निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक तथा व्यवसायिक विकास विना देशको आर्थिक विकास र समृद्धि सम्भव नभएको धारणा राखे । ‘कठिन परस्थितीमा पनि तपाईंहरुले देखाएको साहस र धैर्य साच्चिकै सराहनीय छ । शान्ति सुरक्षा कायम राख्दै लगानीको वातावरण बनाउनै पर्दछ । म सरकारलाई त्यो वातावरण निर्माण गर्न आग्रह गर्दछु,’ राष्ट्रपति पौडेलले भने । भेटवार्ताका क्रममा निजी क्षेत्रले आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण आवश्यक भएकोमा जोड दिएको छ । उनीहरुले दण्डहीनताको अन्त्य शान्ति, स्थायित्व र लगानीको वातावरण सिर्जना गर्नु पर्ने बताए । साथै उनीहरुले आसन्न निर्वाचन समयमा नै सम्पन्न हुनु पर्ने र निर्वाचनको लागि निजी क्षेत्रको साथ सहयोग रहने धारणा राखेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भदौ २३ र २४ गतेको आन्दोलनका नाममा भएको गलत घुसपैठले सार्वजनिक–निजी सम्पत्तिमाथि ठूलो क्षति भएको उल्लेख गर्दै घटनामा संलग्नहरुमाथी कारबाही हुनुपर्ने बताए । ‘जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेन्डाहरु महासंघले उठाउँदै आएका एजेन्डाहरु हुन् । यद्यपी पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ,’ उनले भने, ‘आम नागरिक र उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा आम नागरिक र उद्योगी व्यवसायीहरुले सुरक्षित महसुस गर्न सुक्नु पर्दछ । औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ । यदी दण्डहीनताले प्रसय पाएको खण्डमा भोलीको स्थिती थप गम्भीर बन्न सक्छ ।’ अध्यक्ष ढकालले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक मेरुदण्डको रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै औद्योगिक सुरक्षा, कानुनी प्रत्याभूतिको सुनिश्चितता र प्रभावकारी कार्यान्वयन प्रक्रियाको माग समेत गरे । महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढन गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहोरिन सक्ने जोखिम कायम रहने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षा बिना स्थायित्व कायम नहुने र स्थायित्व बिना आर्थिक गतिविधी चलायमान नहुने हुनाले व्यक्तिगत र औद्योगिक शान्ति सुरक्षाको कायम राख्न राज्य संयन्त्र गम्भीर बन्नु पर्ने धारणा राखे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले २३ र २४ को घटनाले व्यवसायीहरुमा आत्मबल कमजोर भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति पहिलो प्राथमिकता भएको बताए । सो अवसरमा महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, कोषाध्यक्ष भरतराज आचार्य होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह, व्यवसायीहरु मिन बहादुर गुरुङ, निर्वाण चौधरी र साहिल अग्रवाल लगायतका उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *