प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै भाग लिने औपचारिक निर्णय गरिएको हो । निर्वाचनमार्फत नै संविधानको रक्षा तथा ‘जेनजी प्रदर्शनका क्रममा परिवर्तनका निम्ति उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य चुनाव प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय पनि गरिएको छ । निर्वाचनका निम्ति भयरहित वातावरण अपरिहार्य भए पनि हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउने परिस्थिति गम्भीर रहेको कांग्रेसको निष्कर्ष छ ।

चुनावका निम्ति निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण निर्माण गर्न निर्वाचन आयोग, सरकार र सम्बद्ध सबैलाई कांग्रेसले आग्रह गरेको छ । यस्तै, तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आमनागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न बैठकबाट माग गरिएको प्रवक्ता डा. महतले बताए । विश्वास र समझदारी आवश्यक भएकाले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न समेत आह्वान गरिएको उनले जानकारी दिए । प्रवक्ता डा.महतले कांग्रेसको महाधिवेशनका विषयमा पार्टीलाई एकताबद्ध बनाएर सर्वसम्मत निर्णय गरिने उल्लेख गरे । जेनजीले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितजस्ता प्रमुख विषय स्वाभाविक, वैध र आमनागरिकको आवाज भएकाले माग पूरा गराउने बैठकबाट प्रतिबद्धता व्यक्त गरिएको छ । कार्यसमिति बैठक यही मंसिर ११ गते पुनः बस्ने कांग्रेसले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *