एनएमबि बैंकद्वारा पाटा र भिजासँगको सहकार्यमा सजिलो डिजिटल भुक्तानी प्रविधि विस्तार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग सहकार्य गर्दै एनएमबि सफ्ट पसको प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक मेसिन बिना नै आफ्नो एनएफसी इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्थबाट डिजिटल कार्ड मार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन । पाटा नेपाल च्याप्टरले मुख्यत होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ ।
यस साझेदारी मार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको छ । एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्नेछन् । यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ । यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ । एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् ।
















