काठमाण्डूले लुम्बिनी २२ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा काठमाण्डूको यो दोस्रो जित हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, त्यसपछिका दोस्रो र तेस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ रन र पाँच विकेटले पराजित भएको थियो । लुम्बिनीको भने यो दोस्रो हार हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो । लुम्बिनीलाई सस्तैमा समेट्न काठमाण्डूका मिलिन्द कुमार र गेरहार्ड इरास्मसले समान दुई विकेट लिए । कप्तान करण केसी, साहब आलम, राशिद खान र सन्तोष यादवको नाममा एक–एक विकेट रह्यो । काठमाण्डूविरुद्ध लुम्बिनीका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेख्यनीय बन्न सकेन । लुम्बिनीबाट नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका शेर मल्लले सर्वाधिक २७ रन बनाए । उनले १८ बलमा तीन छक्का प्रहार गरे । शेरले १७औँ ओभरमा काठमाण्डूका साहब आलमलाई लगातार तीन छक्का प्रहार गर्दै लुम्बिनीका इनिङलाई लम्ब्याउने प्रयास गरेका थिए । तर, १८औँ ओभरको पहिलो बलमा दुई रन लिँदा शेरलाई काठमाण्डूका भीम सार्कीले विकेटकिपर बेन चाल्सवर्थबाट रनआउट गराए । दिलिप नाथले २५ रन बनाए । लुम्बिनीको धर्मराएको इनिङ सम्हाल्ने प्रयास गरेका उनले ३३ बलमा एक चौका र एक छक्का प्रहार गरे ।
ओपनर डी‘एर्सी शर्टले २२ रन बनाए । उनले ११ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेल र गुलबद्दिन नैबले समान ११ रन थपे । अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । लुम्बिनीका सुमित महर्जन ‘गोल्डेन डक’ भए । त्यसअघि टस हारेर ब्याटिङमा आएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल खडा गरेको थियो । काठमाण्डूलाई प्रतिस्पर्धात्मक लक्ष्यसम्म पुर्याउन करण केसीले आक्रामक ब्याटिङ गर्दै ३४ रन बनाए । ३०९ को स्ट्राइक रेटमा ब्याटिङ गरेका करणले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे । उनले १९औँ ओभरमा लुम्बिनीका रुबेन ट्रम्पेलमनलाई एकै ओभरमा ३१ रन प्रहार गरेका थिए । ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३२ रन जोडे । आकाशले ३६ बलमा चार छक्का प्रहार गरे । सन्तोष यादवले १६ बलमा दुई छक्कासहित २६ रन जोडे । मिलिन्द कुमार र गेरहार्ड इरास्मसले समान १७ रन जोडे । करणले अन्तिम ओभरमा जीवनदान पाएका थिए । गुलबद्दिन नैबको बलिङमा करणले गरेको प्रहार लुम्बिनीका सन्दीप जोराले क्याच गर्न सकेनन् । रसिद खानले १४ रन जोडे । बेन चाल्र्सवर्थ डक आउट भए । लुम्बिनीका कप्तान पौडेल, रुबेन ट्रम्पेलमन, मल्ल र गुलबद्दिनले समान दुई विकेट लिए ।
















