प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजी अगुवा मिराज ढुंगाना समूह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । वर्तमान सरकार जेनजीको भावनाविपरीत अघि बढ्न खोजेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ सो समूहले बुधबार प्रधानमन्त्री निवासबाहिर प्रदर्शन गरेको हो । उनीहरूले प्रधानमन्त्री राजीनामा देउ, जेनजीका माग पूरा गर, दोषीलाई कारबाही गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए । प्रधानमन्त्री निवासको गेटबाहिर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई त्यहाँबाट हटाएको थियो । सो क्रममा ढुंगानाले जेनेजी आन्दोलनको मर्मविपरीत सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएकाले आफूहरू विरोधमा उत्रिएको बताए ।

आफूहरूले अघि सारेको ९ बुँदे मागमा सम्बोधन नभएसम्म विरोध जारी रहने भन्दै अहिलेको अवस्थामा हुने निर्वाचनले देशलाई निकास नदिने उनको भनाइ छ । जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनीमा संलग्नमाथि कारबाही हुनुपर्ने उनीहरूले जनाएका छन् । यसअघि मंगलबार पनि सो समूहले सिंहदरबार आसपास प्रदर्शन गरेका थिए । आफूहरूको जायज माग प्रधानमन्त्रीलाई बुझाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको उनीहरूको आरोप छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *