सिटिजन्सको मोबाइल एपबाटै सेयर भर्न सकिने
काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सेयरमा आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । जुन सेवा नेपालको बैंकिङ्गमा पहिलोपटक सिटिजन्स बैंकले ल्याएको हो । डिजिटल बैंकिङमा जोड दिइरहेको सिटिजन्स बैंकले मोबाइल बैंकिङ्ग एपबाटै सार्वजनिक निष्काशन (आईपीओ), थप सार्वजनिक निष्काशन (एफपीओ), हकप्रद सेयर लगायतमा आवेदन दिन सकिने सेवा ल्याएको हो । नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलोपटक सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमार्फत नै सीआस्बा तथा सीआरएन नम्बर सेवा प्रदान गर्ने गरी माईआस्बा फिचर ल्याएको बैंककी डिम्याट तथा आश्वा हेड रोजीना तिवारीले जानकारी दिइन् । ग्राहकहरूलाई सहज होस् भन्ने उद्देश्यले मोबाइल बैंकिङ्ग एपबाट सेयरमा आवेदन दिन सकिने व्यवस्था मिलाएको उनको भनाइ छ । तिवारीका अनुसार माईआस्वा सेवा मोबाइल बैंकिङ्ग एपमा भएका फिचरहरूमध्ये ‘एडिस्नल’ फिचर हो । यस फिचरबाट आईपीओ, एफपीओ लगायत सेयरमा आवेदन दिन सकिनेछ । डिम्याट खाता भएका ग्राहकहरूले सोही डिम्याटका आधारमा सीआस्बा नम्बर र सीआरएन नम्बर पाउने उनको भनाइ छ । उक्त सेवा लिनका लागि ग्राहकले डिम्याट खाता खोलेको हुनुपर्छ । जुनसुकै निक्षेप सदस्यमा डिम्याट खाता भएपनि बैंक खाता र मोबाइल बैंकिङ्ग सुविधा भने सिटिजन्समा हुनुपर्छ । मोबाइल बैंकिङ्गमा माईआस्वा फिचर देखिन्छ । त्यसमा क्लिक गरेर डिम्याट खाता राख्नुपर्छ । सीआरएन नम्बर पहिला नै लिएको छ भने उक्त नम्बर ‘डिस्प्ले’ हुन्छ । यदि सीआरएन नम्बर लिएको छैन भने नयाँ सीआरएन नम्बर समेत तत्काल लिन सकिने तिवारीले बताइन् ।
सिटिजन्स बैंकको मोबाइल बैंकिङ्ग एपमै उक्त सुविधा भएपछि ग्राहकहरूले अन्य एप तथा शाखा कार्यालयमा जानु पर्ने वाध्यताको अन्त्य भएको उनको भनाइ छ । ‘बैंकको सिस्टम अटोमेटिक भएकाले रियल टाइममा रकम होल्ड हुन्छ । सीआस्वा नम्बर पनि मोबाइल एपबाट लिन सकिन्छ । सेयर आवेदन दिएपछि बैंकको एपबाटै केही समयमै रिजेक्ट वा भेरिफाइड हेर्न सकिन्छ । साथै सेयर बाँडफाँट भएपछि नतिजा पनि एपबाटै हेर्न सकिन्छ,’ तिवारीले भनिन् । बैंकले उक्त सेवा ल्याएको छोटो समयमै औसत ८० हजार बढीले सिटिजन्स बैंकको मोबाइल एपबाटै आवेदन दिने गरेको उनको दाबी छ । साथै बैंकमा २ लाख भन्दा बढी डिम्याट खाता छन् ।
















